इटहरी/ नेपालको थारु समुदायको सांस्कृतिक सम्पदा र परम्परा जगेर्ना गर्ने उद्देश्यले ‘धुम्रानाच’ बोलको गीत सार्वजनिक गरिएको छ । थारु समुदायको पौराणिक नाचमा आधारित यो गीतले थारु जातिको मौलिक नृत्य र परम्परालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ । सार्वजनिक गीतमा अनुमा चौधरी, रञ्जना चौधरी र सृजना चौधरीको स्वर समावेश गरिएको छ ।
सार्वजनिक गीतको शब्द, संगीत र रचना पौराणिक जागरण समूह, रामधुनी-१, डुम्रहा, सुनसरीले गरेको हो । गीतको एरेञ्जर गणेश चौधरी हुन् भने मिक्सिंग र मास्टरिंग चन्द्र चौधरीले गरेका छन् । यो गीतलाई जि म्युजिक स्टुडियोमा रेकर्ड गरिएको हो । हेर्नुस् भिडियो ।
धुम्रानाचको भिडियो निर्देशन, कथा र भिडियोको कन्सेप्ट श्रवण चौधरीले तयार गरेका छन् भने यसको कोरियोग्राफी शिव चौधरीले गरेका हुन् । भिडियोमा बन्दना चौधरी, बन्दना खवास, निरज चौधरी र टिमको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन रमेश चौधरीले गरेका छन् भने सम्पादन र कलरको काम श्रवण चौधरीले सम्हालेका छन् । मेकअप आर्टिस्टको रूपमा सोम मगरातीले काम गरेका छन् ।
नेपालको पूर्वदेखि पश्चिमसम्म रहेका थारु समुदायलाई कलामा धनी मानिन्छ । फरक भूगोल र विभिन्न भाषिक विविधता भए पनि थारु समुदायको मौलिक पहिचान सदैव विशेष रहेको छ । ‘धुम्रानाच’ वा ‘झुम्रानाच’ थारु समुदायको पुरातन धार्मिक र सांस्कृतिक सम्पदा हो, जुन लामो समयदेखि थारु पुर्खाले जगेर्ना गर्दै आएका छन् । प्रविधिको विकास नभएको समयमा धार्मिक कार्य, भोजभतेर र मनोरञ्जनका लागि यस नाचको विशेष महत्त्व थियो । समयसँगै लोप हुँदै गएको यस नाचलाई नयाँ पुस्ताका कलाकारहरूले पुनर्जीवित गर्न प्रयास गरेका छन् ।
Discussion about this post