इटहरी/ फिल्म ‘बेहुली फ्रम मेघौली’को एडभान्स बुकिङ सोमबारदेखि खुल्ला भएको छ, घटस्थापनाको दिन असोज १७ गते रिलिज हुने तयारीमा रहेको यस फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ। अभिनेत्री स्वस्तिमा खड्काको निर्माण डेब्यू रहेको यस फिल्मलाई देशभरका मल्टिप्लेक्स हलहरुले बम्पर ओपनिङ दिलाउन बुकिङ खोलेका छन्। प्रमुख मल्टिप्लेक्स चेन क्यूएफएक्सले देशभर ७३ शो उपलब्ध गराएको छ, जसमा ३२ शो काठमाडौं उपत्यकामा र ४१ शो मोफसलमा खुला गरिएको छ।
यसका साथै, आइएनआई सिनेमाजले काठमाडौंका दुई हल र बुटवलमा गरि १४ शो दिएका छन् भने वान सिनेमाजले नयाँ बानेश्वर र कालीमाटीका हलहरुमा ९ शो उपलब्ध गराएको छ। बिग मुभिजले ६ शो र एफक्युबले ७ शो दिएका छन्। अझै केही हलमा एडभान्स बुकिङ खुल्न बाँकी रहेकोले पहिलो दिन फिल्मले दुई सय भन्दा बढी शो पाउने सम्भावना रहेको छ।
फिल्मलाई साजन काफ्ले र आकाश बरालले संयुक्त रुपमा निर्देशन गरेका हुन्। यसमा स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको छ भने बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारी लगायतका कलाकारहरुको अभिनय पनि देख्न पाइनेछ। फिल्मले उमेर पुगेकी युवतीमाथि समाज र परिवारले विवाहका लागि दिने दबाब र त्यसबाट उत्पन्न हुने परिस्थितिको कथा प्रस्तुत गर्नेछ।
यसको कमेडीप्रधान ट्रेलरले दर्शकको ध्यान तानिसकेको छ र पारिवारिक दर्शकहरुलाई फिल्मले पूर्ण मनोरञ्जन दिने अपेक्षा गरिएको छ। ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्मका निर्देशक साजन काफ्ले र आकाश बराल हुन्, जुन उनीहरुको डेब्यू निर्देशन हो। निर्माणमा अभिनेत्री स्वस्तिमा खड्कालाई उनका श्रीमान् र निर्देशक निश्चल बस्नेतले सघाएका छन्। फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे रहेका छन् भने कास्टिङ निर्देशकको भूमिकामा विजय बराल रहेका छन्।
फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका छन् भने संगीत जयन जे वाइवा र कुशल पोखरेलले दिएका छन्। प्रदीप लामा र केबीका खत्रीको कोरियोग्राफी रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका हुन्। प्रोडक्सन डिजाइन घनश्याम श्रेष्ठले सम्हालेका छन् भने स्टील फोटोग्राफी केशव पाण्डे र लक्ष्मण पाण्डेले गरेका छन्। फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट र डिसिएनले गर्नेछ। दसैँको अवसर पारेर घटस्थापनाका दिन रिलिज हुन लागेको फिल्मले पारिवारिक मनोरञ्जन दिने अपेक्षासहित सिनेमा घरमा प्रवेश गर्दैछ।
Discussion about this post