इटहरी/ कबड्डी श्रृंखलामा मैंयाको भूमिकाबाट चर्चित रिश्मा गुरुङ हालै नयाँ फिल्म “रिमै”को छायांकनका लागि नेपाल फर्किएकी छन् । उनी लामो समयदेखि श्रीमानसँग अमेरिकामा बस्दै आएकी थिइन् । नेपाल फर्कनुको कारण “रिमै”को कथावस्तुले उनलाई गहिरो रूपमा छोएको कुरा उनले बताइन् ।
रिश्मा भन्छिन्, “धेरै समयपछि फेरि सिनेमाको पर्दामा फर्किँदै छु । बीचमा ‘क्रसरोड’ नामक फिल्ममा काम गरे पनि, त्यो फिल्म हालसम्म प्रदर्शनमा आएको छैन । त्यसैले लामो ग्याप भएकोजस्तो लाग्यो।” उनले ‘रिमै’ फिल्म गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुने जानकारी दिँदै, मुख्य पात्रका रूपमा दयाहाङ राई र सौगात मल्लसँग काम गर्न पाउँदा उत्साहित भएको बताइन् ।
यस फिल्मको निर्देशन खिल बहादुर गुरुङले गर्नेछन् भने निर्माण बिर बहादुर घलेले गर्दैछन् । निर्देशक गुरुङका अनुसार असोज २८ गतेबाट गोरखाको सिरानचोकमा फिल्मको छायांकन सुरु हुनेछ । रिश्मा गुरुङसँगै रिमैमा दयाहाङ राई, सौगात मल्ल, कविता आले र माओत्से गुरुङले पनि प्रमुख भूमिका निभाउनेछन् । उपेन्द्र सुब्बाको लेखन रहेको यो फिल्मको औपचारिक शुभारम्भ दशैंको घटस्थापनाको दिनमा गरिनेछ ।
Discussion about this post