इटहरी/ लिम्बु समुदायको लोकलय अर्थात मुल गीतको रुपमा मानिने ‘पालम’ सार्वजनिक गरिएको छ । पालम भित्र सृष्टिदेखि मानव सभ्यताको विकास र प्रेमसम्मका विभिन्न विषयहरू बताउने लिम्बु समुदायको एक लोकगीत हो । धरानको बगरकोटमा अवस्थित होटल शौर्यामा सनिवार एक कार्यक्रमको आयोजना गरि ‘नौतुन मायाँ’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको हो । गायक कुशल थलङले उक्त पालम गीतमा स्वर भरेका छन् भने उनलाई गायनमा गायिका मनु नेम्बाङले साथ दिएकी छन् ।
गायक थलङ अभिनेता समेत हुन् । लामो समयदेखी संगीत तथा सिनेमा क्षेत्रमा आवद्ध रहि लोकप्रियता हासिल गरेका थलङले यो पालम गीत पहिलो पटक गाएका हुन् । सार्वजनिक गीतमा मदन वानेमको शब्द, शिव सम्बाहाम्फेको लय समावेश गरिएको छ । यस्तै सो गीतको भिडियो छायांकन दिनेश राईले गरेका हुन् भने सम्पादक तथा ड्रोन अपरेटर शिर कुमार साम्पाङ हुन् । हेर्नुस् भिडियो ।
सार्वजनिक ‘नौतुन मायाँ’ बोलको गीतको भिडियो निर्माताको रुपमा मिना हुक्पा चोङ्बाङ र डम्बर कुमारी पोयाङ्बो मेन्याङ्बो सह-निर्माताको रुपमा रहेकी छन् । भिडियोमा गायक स्वयंको प्रमुख भुमिकामा अभिनय रहेको छ । उनले भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै लिम्बू भाषा संस्कार र संस्कृतिका गीतहरुलाई अबका दिनमा प्राथमिकता दिने बताए ।
लिम्बू भाषा र संस्कारका गीतलाई प्राथमिकता दिएपनी नेपाली राष्ट्र भाषाका गीतलाई पनि संगै लैजाने उनको भनाई छ । सार्वजनिक भिडियोमा गायक थलङसंगै बिनु तुम्बाहाम्फे, डि. बि. लिम्बू, मिना हुक्पा चोङ्बाङ(यक्सो), डम्बर कुमारी पोयाङ्बो मेन्याङ्बो, शिव सम्बाहाम्फे, पूर्णिमा तुम्बाहाम्फे र रेबिका निङ्लेकूको समेत अभिनय रहेको छ । भिडियोलाई म्युजिकल फिल्मको रुपमा निर्माण गरिएको छ । गायनमा संगै अभिनयमा पनि व्यस्त रहेका थलङले पछिल्लो समय लिम्बू संस्कारमा आधारित फिल्म ‘युक्पुङ’ मा अभिनय गरेका थिए ।
Discussion about this post