इटहरी/ अघिल्लो वर्षको मंसिर १२ गते लगनगाँठो कसेका जोडी अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसीले पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा छन् । लामो समयदेखिको प्रेम सम्बन्धलाई उनीहरुले गत वर्षको मंसिरमा विवाहमा परिणत गरेका थिए । उनीहरु आगामी बैशाखमा आमा-बुबा बन्दैछन् । चिकित्सकले बैशाख २७ गतेको डेलिभरी डेट तोकेको सलोनको भनाइ छ । गएको मंसिरमा पहिलो विवाह एनिभर्सरीको दिन सलोन र करिश्माले आफूहरु अभिभावक बन्न लागेको जानकारी गराएका थिए ।
सलोन र करिश्माले हुनेवाला बच्चाको नाम ‘सलोमा’ राखेको जनाएका थिए । यसबीच, बुधबार ‘सलोमा’ जोडीले ‘प्रेग्नेन्सी फोटोसुट’ गराएका छन् । बुधबार दुवैले आ-आफ्नो सामाजिक सञ्जालमा सेयर गरेको तस्वीरमा उनीहरु रोमान्टिक तथा खुशी देखिएका छन् । तस्वीरमा करिश्माको ‘बेबी बम्प’ देख्न सकिन्छ । यी दुबै जिन्स पहिरनमा छन् । सलोनले क्याप्सनमा ‘नयाँ अध्याय सुरु’ भनेर लेखेका छन् । उनीहरु पहिलो सन्तानलाई स्वागत गर्न उत्साहित देखिन्छन् । करिश्मा पेशाले एयर होस्टेस हुन् भने केही म्यूजिक भिडियोमा पनि उनले काम गरेकी छन् ।
करिश्मा गर्भवति भएदेखि सलोनले कुनै फिल्ममा काम गरेका छैनन् । पहिलो सन्तानको जन्मपछि उनी आफैं फिल्म ‘यूनिभर्सिटी अफ गुण्डाज्’ निर्माणको तयारीमा छन् । यो फिल्ममा सलोनसँगै अभिनेता सलिनमान बनियाँको मुख्य भूमिका रहनेछ । सहायक चरित्रमा रुचाइएका सलोन पछिल्लोपटक फिल्म ‘जय हो’मा देखिएका थिए । अहिले उनी फिल्म छनोटमा चुजी भएको देखिन्छ ।
Discussion about this post