इटहरी/ कुटुमा कुटु सुपारी दाना भन्ने बित्तिकै अभिनेत्री स्वस्तिमा खड्काको त्यो सुन्दर नृत्य सबैको मानसलपटलमा पक्कै आउँछ । त्यही गीतले अहिले नयाँ रेकर्ड कायम गरेको छ । यो गीतको भिडियो युट्युबमा सर्वाधिक भ्युज प्राप्त गर्ने पहिलो नेपाली गीतको भिडियो बनेको छ । ६ वर्षअघि युट्युबमा सार्वजनिक यो गीतको भिडियोले युट्युबमा २० करोड भ्युज पाएको छ । नेपालको जनसंख्यालाई आधार मानेर यो गीतको भिडियो भ्युजलाई तुलना गर्ने हो भने झण्डै सात गुणा बढी हो ।
पछिल्लो समय एसिया कप क्रीकेटमा नेपाल भारत खेलमा यो गीत बजेपछि भारतिय क्रीकेटर बिराट कोहली नाचेका थिए । त्यसपस्चात सो भिडियो नेपाल र भारतभर भाईरल भयो । जसले गर्दा पनि यो गीतको भिडियो युट्युबमा सर्च गर्नेहरुको ठुलै जमात युट्युबमा आयो । र, अहिले यत्तिको सफलतामा बल पुग्यो । यता सार्वजनिक तथा साङ्गीतिक कार्यक्रम होस् वा साथिभाई तथा परिवार भेटघाटको रमझममा होस् । यो गीतको राम्रो क्रेज छ । फिल्म ‘२ रुपैयाँ’ मा समावेश यो गीतको भिडियो कोशी प्रदेशमा छायांकन गरिएको हो । हेर्नुस भिडियो
मोरङको सुन्दरहरैचा अवस्थित गोकुलम रिसोर्टमा छायांकन गरिएको यो गीतको भिडियोको कोरियोग्राफर कविराज गहतराज हुन् । यो गीतका लेखक राजनराज सिवाकोटी हुन् । उनका प्रायः गीतहरु मिलियन बढी भ्युज संगै लोकप्रिय छन् । ‘कुटुमा कुटु’लाई उनले सन् २००८ को जनवरी १ तारिखमा रातको १२ बजे लेखेका हुन् । अर्थात यो गीतको सिर्जना गर्न सुरुवात भएको १६ वर्ष पुगेको छ भने सन् २०१६ अर्थात आजभन्दा ७ वर्षअघि फिल्म २ रुपैयाँमा राख्ने सहमति भएपछि मात्रै यो गीतले पुर्णता पाएको सिवाकोटीले बताए । उनले यो खुशीलाई सबैमाझ साट्न एक लामो स्ट्याटस लेखेर सामाजिक संजालमा पोस्ट गरेका छन् । अहिले पनि यो गीतको भिडियोको भ्युज युट्युबमा निरन्तर उकालो लागिरहेको छ भने कमेन्ट गर्नेहरुको संख्या समेत बढ्दो छ । ‘कुटुमा कुटु’ गीतलाई यो गीतका रचनाकार राजनराज सिवाकोटी र गायिका मेलिना राईले गाएका छन् ।
Discussion about this post