इटहरी/ नेपाली फिल्म ‘फेरि रेशम फिलिली’ले आफ्नो दोस्रो पोस्टर सार्वजनिक गरेको छ । जसले फिल्मको कथा र चरित्रहरूको बारेमा अझ गहिरो संकेत दिएको छ । केहीदिनअघि फिल्मको पहिलो गीत ‘फेरि जालमा’को अडियोभिडियोको झलक पनि निर्माण युनिटले सार्वजनीक गरेको छ । यो गीत आज बिहिबार सोनाम लोछारको अवसर पारेर सार्वजनीक गरिँदैछ ।
सार्वजनिक पोस्टरमा फिल्मका तीन प्रमुख कलाकार विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरसियालाई विशेष चरित्र लुक्समा देखाइएको छ । पोस्टरमा विनय श्रेष्ठलाई भूँईमा पछारिएको अवस्थामा हातमा पासपोर्ट लिएको देख्न सकिन्छ भने उनिमाथि अभिनेत्री सुपुष्पाले आक्रोशपूर्ण शैलीमा बन्दुक ताकिरहेको देख्न सकिन्छ । यस्तै कामेश्वर चौरसियाले दुई हात जोडेर माफी मागिरहेको दृश्य पनि पोस्टरमा समावेश छ ।

सार्वजनीक पोस्टरको पृष्ठभूमिमा नेपालको धरहरा र अमेरिकाको ‘स्ट्याचु अफ लिबर्टी’ देखाइएको छ, जसले नेपालीहरूको अमेरिकाप्रतिको आकर्षण र स्वप्नलाई प्रतिबिम्बित गरेको छ । यस पोस्टरबाट फिल्मको कथा विनयमाथि सुपुष्पाले ताकेको बन्दुकको रहस्यमा बुनेको रहेको अनुमान गर्न सकिन्छ । साथै, यसले नेपाली समाजमा पारिवारिक र सामाजिक दृष्टिकोणबाट अमेरिकाप्रतिको आकर्षणलाई प्रस्तुत गर्ने देखिन्छ ।
‘फेरि रेशम फिलिली’को निर्देशन निरज महर्जनले गरेका छन् भने कथा पनि उनैले लेखेका छन् । यसमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरसिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापा लगायतले अभिनय गरेका छन् । फिल्मको छायांकन सुसन प्रजापतीले गरेका छन् भने पटकथा निर्देशक महर्जन र आकाश बरालको संयुक्त रहेको छ ।

फिल्मको संगीत कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माले तयार गरेका छन् । यो फिल्म आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको हो । यो फिल्मको निर्माता रौनक विक्रम कडेल, कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्माता एनि थापा छन् । फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्दैछन् । ‘फेरि रेशम फिलिली’ले आफ्नो पूर्व सिक्वलझैं मनोरञ्जनको पूर्ण प्याकेज प्रस्तुत गर्ने अनुमान छ ।












Discussion about this post