इटहरी/ हलिउड सुपरस्टार लियोनार्डो डिकाप्रियो कार्यकारी निर्माता रहेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर भव्यताका साथ सम्पन्न भएको छ । बुधबार साँझ ललितपुरस्थित लबिम मलमा आयोजित प्रिमियर शोमा स्वदेशी तथा विदेशी दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो । यस डकुमेन्ट्रीले नेपालको हिमाली जिल्ला डोल्पाका दुई आदिवासी महिलाबीचको प्रेरणादायी मित्रता र दुर्लभ हिमचितुवा संरक्षणको कथालाई जीवन्त रूपमा पर्दामा उतारेको छ ।
फिल्मले स्थानीय हिमचितुवा संरक्षणकर्मी छिरिङ ल्हामु लामा र १७ वर्षीया किशोरी तेन्जिन भुटी गुरुङको जोखिमपूर्ण तर सुन्दर हिमाली यात्रालाई पछ्याएको छ । छिरिङले तेन्जिनलाई गर्ने मार्गदर्शन र लोपोन्मुख हिमचितुवाको खोजीमा उनीहरूले गर्ने संघर्ष नै यसको मुख्य आकर्षण हो । यो वृत्तचित्र केवल एउटा कथा मात्र नभएर संरक्षणको क्षेत्रमा ‘महिला आवाज’को शक्तिशाली प्रमाण हो । स्थानीय गोठालाहरूले आफ्नो पशुधनको क्षति भएपछि बदलाको भावनाले गर्ने हिमचितुवाको हत्यालाई कसरी रोक्न सकिन्छ भन्ने यसमा देखाइएको छ ।
@parikalanewsofficial
फिल्मका पात्रहरूले विकास गरेका नयाँ अहिंसात्मक प्रविधिहरूले पशुधनको सुरक्षा गर्दै स्थानीयको जीविकोपार्जनलाई हिमचितुवा संरक्षणसँग जोड्न मद्दत पुर्याएको छ । यस प्रोजेक्टको सुरुवात नेपाली फोटोग्राफर सोनम चोकी लामा र उनकी दिदी छिरिङ ल्हामु लामाले आफ्नो दुर्गम मातृभूमिमा हिमचितुवाको खोजलाई क्यामेरामा कैद गर्न थालेपछि भएको थियो । पछि यसमा अन्तर्राष्ट्रिय फिल्म महोत्सवका विजेता फिल्ममेकरहरू बेन आयर्स र एन्ड्रयू लिन्च जोडिएपछि यसले ठूलो डकुमेन्ट्रीको रूप लियो ।
संरक्षणको यो महत्त्वपूर्ण अभियान र डकुमेन्ट्रीको महत्त्वलाई नेपाल सरकारले पनि बुझोस् भन्ने निर्माण टोलीको अपेक्षा छ । एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा पुरस्कार जितिसकेको यस डकुमेन्ट्रीमा विश्वस्तरीय टोलीको सहभागिता रहेको छ । यसको कार्यकारी निर्माता ओस्कार विजेता जोआना नतासेगारा र हलिउड अभिनेता लियोनार्दो डिकाप्रियो रहेका छन् भने निर्देशक सोनम चोकी लामा, बेन आयर्स र एन्ड्रयू लिन्च हुन । लेखक बेन आयर्स र एन्ड्रयू लिन्च, निर्माता इयान डेभिस, टोर्किल जोन्स, जोआना नतासेगारा र छिरिङ ल्हामु लामा रहेको फिल्मलाई सोनम चोकी लामा, एन्ड्रयू लिन्च र रश स्टर्जेसले छायांकन गरेका हुन् ।













Discussion about this post