इटहरी/ फिल्म ‘जलाकी’को मुख्य अभिनेताबाट धिरज मगर बाहिरिएका छन् भने उनको ठाउँमा अभिनेता सोनम तोप्देनको पुनः प्रवेश भएको छ । खासमा यस फिल्मको पहिलो चरणको छायांकनका लागि मुख्य अभिनेताका रूपमा सुरुमा सोनम नै अनुबन्धित थिए । तर, अर्को फिल्म ‘ऐरी’को सेटमा एक्सन दृश्य खिच्ने क्रममा खुट्टा भाँचिएर उनी थलिएपछि निर्माण टिमले उनको स्थानमा धिरज मगरलाई भित्र्याएको थियो । अहिले सोनम पूर्ण रूपमा स्वस्थ भएर काममा फर्किएपछि निर्माण टिमसँगको आपसी सल्लाहमा धिरज फिल्मबाट बाहिरिएका हुन् ।
यससँगै सोनमले आफ्नो मुख्य भूमिका पुनः फिर्ता पाएका छन् । सोनम घाइते हुँदा निर्माण टिमले उनलाई विशेष भूमिकामा मात्र राख्ने निर्णय गर्दै धिरज र मुख्य अभिनेत्री उपासना सिंह ठकुरीको रोमान्टिक पोस्टर समेत सार्वजनिक गरेको थियो । तर अब धिरजको बहिर्गमनसँगै सोनमलाई उक्त मुख्य भूमिकामा दोहोरिने मौका मिलेको निर्माण पक्षले जनाएको छ । निर्देशक अशोक थापा मगरको निर्देशनमा निर्माण भइरहेको यस फिल्मको हाल कास्कीका विभिन्न स्थानमा धमाधम छायांकन भइरहेको छ ।
यस फिल्ममा अभिनेत्री उपासना सिंह ठकुरी मुख्य भूमिकामा छिन् । ब्लकबस्टर फिल्म ‘खुस्मा’पछि निर्देशक थापा मगर र उपासनाको यो दोस्रो सहकार्य हो । ‘खुस्मा’बाटै उपासनाले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय चलचित्र पुरस्कार हात पारेकी थिइन् । निर्देशक थापा मगरको डेब्यु फिल्म ‘खुस्मा’मा समावेश ‘रुकुम मैकोट’ गीतले युट्युबमा ५ महिनामै १० करोड भ्युज पाउने ऐतिहासिक रेकर्ड बनाएको हुँदा ‘जलाकी’लाई पनि बहुप्रतिक्षित फिल्मको रूपमा हेरिएको छ ।
@parikalanewsofficial
मगर समुदायमा आस्था, कसैको सम्झना र मायाको प्रतीकका रूपमा मानिने ढुंगाले चिनेको स्तम्भलाई ‘जलाकी’ भनिन्छ । त्रिकोणात्मक प्रेमकथामा आधारित यस फिल्मले मगर र गुरुङ समुदायको मौलिक संस्कृतिलाई झल्काउनेछ । यो फिल्ममा सोनम र उपासनासहित शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर र खड्क बहादुर पुन (खबपु) को प्रमुख भूमिकामा अभिनय रहनेछ । ‘मिस सिक्किम’ साहारा हाङ्मा लिम्बुले यसै फिल्मबाट नेपाली फिल्ममा डेब्यु गर्दैछिन् ।
यो फिल्मको सुटिङ तीन चरणमा हुनेछ । यसलाई रुकुम, रोल्पा, म्याग्दी, बागलुङ, पोखरा र दक्षिण कोरियाका विभिन्न स्थानमा खिचिनेछ । एम मिडिया प्रालिको ब्यानरमा बनिरहेको फिल्मका निर्माताहरूमा ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । डीओपी शैलेन्द्र डी कार्की, संगीत एसडी योगी र सरित राई अनि गीत रचना सुरेन्द्र राना र राम अविरल विष्टको रहेको छ ।












Discussion about this post