इटहरी/ समाजमा सीमान्तकृत र विभेदको सिकार बन्दै आएका लाखौं नेपाली यौनकर्मी महिलाहरूको अधिकार र न्यायको मुद्दालाई राष्ट्रिय बहसमा ल्याउन भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन्द्र शाह (बालेन) को ध्यानाकर्षण गराइएको छ ।विगत दुई दशकदेखि यौनकर्मी महिलाहरूको स्वास्थ्य र मानवअधिकारका क्षेत्रमा कार्यरत संस्था ‘आस्था-फेथ’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहलाई खुला पत्र लेख्दै नीतिगत सुधार र संवादको आह्वान गरेको हो ।
संस्थाकी कार्यकारी प्रमुख रिना लामाद्वारा सार्वजनिक गरिएको उक्त पत्रमा यौनकर्मीहरूले दैनिक रूपमा भोग्नुपरेको हिंसा, दुर्व्यवहार र सामाजिक बहिष्कारको दर्दनाक अवस्थालाई चित्रण गरिएको छ । राज्यले उनीहरूलाई मानवकै रूपमा सम्मान र सुरक्षा दिनुपर्ने माग गर्दै पत्रमा बालेनलाई प्रत्यक्ष संवादको निम्तो समेत दिइएको छ । पत्र सार्वजनिक भइरहँदा करिब तीन हजार यौनकर्मीका वास्तविक अनुभव र भोगाइमा आधारित फिल्म ‘लालिमा’ पनि फागुन २९ गतेदेखि प्रदर्शनमा छ ।
@parikalanewsofficial
कार्यकारी प्रमुख लामाका अनुसार यो फिल्म केवल कथा मात्र नभएर हजारौं सीमान्तकृत महिलाहरूको दबिएको आवाजको सामूहिक दस्ताबेज हो । “यौनकर्मीको मानवअधिकार हननको विषय उजागर गर्न हामीले यो फिल्म बनाएका हौं,” लामाले भनिन् । पत्रमार्फत राज्यको नीति र दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाइएको छ । यौनकर्मीहरू आधारभूत मानवअधिकारबाटै वञ्चित हुनुपरेको उल्लेख गर्दै पत्रमा भनिएको छ, “उनीहरूका भोगाइहरू नीतिगत बहसमा विरलै अटाउँछन् । यदि अटाए पनि प्रायः अपराध वा नैतिकताको साँघुरो चस्माबाट मात्र हेर्ने वा गलत रूपमा बुझ्ने गरिन्छ ।”

भावी नेतृत्वले अति सीमान्तकृत नागरिकको पक्षमा उभिनुपर्ने सन्देश दिँदै लामाले पत्रको अन्त्यमा समावेशी राष्ट्रको वास्तविक अर्थ प्रस्ट पारेकी छन् । “वास्तवमै समावेशी राष्ट्र निर्माण गर्नु भनेको भेदभाव र सीमान्तकृत जीवन बिताइरहेका नागरिकहरूको समेत सुरक्षा सुनिश्चित गर्नु हो,” उनले भनेकी छन्, “राष्ट्र तब मात्र बलियो बन्छ जब उसले आफ्ना अति सीमान्तकृत नागरिकहरूको अधिकार र मर्यादाको संरक्षण गर्छ ।” यस खुला पत्र र फिल्म ‘लालिमा’को सन्देशले नेपाली समाज, नीति निर्माण तह र मानवअधिकारको क्षेत्रमा नयाँ र गम्भीर बहस सिर्जना गर्ने विश्वास संस्थाले लिएको छ ।












Discussion about this post