इटहरी/ नेपाली फिल्म क्षेत्रमा अब दर्शकले एउटा बिल्कुलै नयाँ र रोचक जोडी देख्न पाउने भएका छन् । अभिनेता जितु नेपाल ‘मुन्द्रे’ र अभिनेत्री प्रियना आचार्य ‘मुन्नी’ पहिलो पटक एकसाथ पर्दामा देखिन लागेको फिल्म ‘कार्की साइँला’को सम्पूर्ण छायांकन ‘प्याकअप’ भएको छ । लाइट, क्यामेरा र एक्सनको शृङ्खला धनकुटाबाट सुरु भएर सुनसरीको चतरा र ऐतिहासिक बराहक्षेत्रको रमणीय सेरोफेरोमा पुगेर टुंगिएको हो ।
रोचक कुरा त के छ भने, निर्माण पक्षले एक महिना लामो सुटिङ सेड्युल तय गरेर काम थालेको थियो । तर, सेटमा कलाकार र प्राविधिकहरूको अथाह मेहनतले गर्दा निर्धारित समयभन्दा निकै अगावै, अर्थात् मात्र २१ दिनमै सुटिङ सम्पन्न भएको निर्देशक राजेन्द्र बस्नेतले जानकारी दिएका छन् । ‘झरिपछिको इन्द्रेणी’ मार्फत ठुलोपर्दामा दर्शकको नजरमा परिसकेकी प्रियना अर्थात् मुन्नीसँग जितु नेपालको यो ‘फ्रेस अनस्क्रिन केमेस्ट्री’ कस्तो होला भन्ने कौतूहल फिल्मकर्मी र दर्शकमा छ ।
यसका अलावा फिल्ममा सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारहरूले विभिन्न भूमिकामा जीवन्त अभिनय पस्किएका छन् । कर्णबहादुर फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मलाई कृष्ण भगत चाम्लिङले प्रस्तुत गरेका हुन् भने निर्माताको जिम्मा बालकुमार राईले सम्हालेका छन् ।
@parikalanewsofficial
डम्बर राईको क्यामेरामा कैद भएका दृश्यहरूमा रोजल थापाको मुख्य सहायक निर्देशन, किरण दाहालको एक्सन, दिप्सन लिम्बुको सङ्गीत र सिबी भण्डारीको प्रोडक्सन व्यवस्थापन रहेको छ । सुटिङ त निकै तीव्र गतिमा सकियो, तर दर्शकले यो फिल्म हलमा कहिले हेर्न पाउनेछन् त ? निर्माण टिमले हालसम्म प्रदर्शन मिति भने सार्वजनिक गरिसकेको छैन । पोस्ट-प्रोडक्सनको काम सकिएपछि छिट्टै रिलिज डेट घोषणा गरिने बुझिएको छ ।












Discussion about this post