इटहरी/ चितवनलाई ‘फिल्म नगरी’ का रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना औंल्याउँदै चलचित्र पत्रकार संघ नेपाल, चितवन शाखाको नयाँ नेतृत्व चयन भएको छ । बुधबार सम्पन्न शाखाको अधिवेशनबाट अध्यक्ष पदमा गोविन्द अर्याल सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अधिवेशनले अर्यालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरेको छ ।
अधिवेशनबाट उपाध्यक्षमा बन्दना देवकोटा, सचिवमा सुशिल पन्त, सहसचिवम आयुष न्यौपाने र कोषाध्यक्षमा युवराज क्षेत्री चयन भएका छन् । यस्तै सदस्यहरूमा कुल प्रसाद काफ्ले, प्रेम प्रसाद सापकोटा, बबिलाल तामाङ, सन्तोष बस्ताकोटी, आरजु देवकोटा, आशिष अधिकारी, गीता शर्मा र अस्मिता पराजुलीलाई सदस्यमा मनोनित गरिएको छ । नवनिर्वाचित अध्यक्ष अर्यालका अनुसार, आगामी वैशाख ५ गते काठमाडौँमा हुन गइरहेको संघको राष्ट्रिय महाधिवेशनका लागि चितवन शाखाबाट रामेश्वर रिजाल र प्रेम प्रसाद सापकोटालाई केन्द्रीय प्रतिनिधि चयन गरिएको छ ।
पत्रकार महासंघमाथि आर्थिक अनियमितताको आरोप
अधिवेशनअघि आयोजित साधारण सभालाई सम्बोधन गर्दै चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीले सञ्चार क्षेत्र र पत्रकार महासंघको पछिल्लो अवस्थाबारे कडा टिप्पणी गरेका छन् । पछिल्लो समय मूलधारका मिडियालाई सामाजिक सञ्जालले डोर्याउनु र उछिन्न खोज्नु निकै चुनौतीपूर्ण विषय बनेको उनले बताए ।
@parikalanewsofficial
सम्बोधनका क्रममा अध्यक्ष बलामीले सम्पूर्ण पत्रकारहरूको छाता संगठन ‘नेपाल पत्रकार महासंघ’मा आर्थिक अनियमितता भइरहेको गम्भीर आरोप लगाए । महासंघले ‘पत्रकार कल्याणकारी कोष’का लागि संकलन गरेको रकम पदाधिकारीहरूले आफ्नै तलब र भत्तामा खर्च गरिरहेको उनको दाबी थियो । साथै, उनले चितवनका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्दै यसलाई फिल्म हब बनाउने अभियानमा सघाउन चलचित्र पत्रकारहरूलाई आग्रह गरे ।
नेपाली फिल्मको प्रवर्द्धनमा संघको भूमिका सधैं उल्लेखनीय रहेको उनको भनाइ थियो । कार्यक्रममा पत्रकारिता क्षेत्रका विभिन्न संघसंगठनका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नारायण अधिकारी, चितवन शाखाका उपाध्यक्ष दिपेन्द्र अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस सेन्टर चितवनका अध्यक्ष राजेन्द्र आचार्य र चलचित्र पत्रकार संघ चितवनका पूर्वअध्यक्ष रविचन्द्र अधिकारी लगायतले कार्यक्रममा सहभागिता जनाएका थिए ।













Discussion about this post