इटहरी/ अघिल्लो वर्ष बक्स अफिसमा सानदार व्यापार गरेको सुपरहिट फिल्म ‘आ बाट आमा’ को सिक्वेल ‘आ आमा २’ को औपचारिक रूपमा निर्माण प्रक्रिया सुरु भएको छ । सोमबार बिहान ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा निर्माण टिमले फिल्मको स्क्रिप्ट पूजा गर्दै शुभमुहूर्त सम्पन्न गरेको हो ।
चर्चित अभिनेता पल शाहको मुख्य भूमिका रहने यस फिल्मको कथा, पटकथा तथा निर्देशनको जिम्मेवारी चन्द्र पन्तले सम्हाल्दै छन् ।
निर्देशक पन्तले शुभमुहूर्तको अवसरमा जानकारी दिएअनुसार यो फिल्म आगामी दशैंको अवसर पारेर दर्शकमाझ हलमा आउने पक्का भएको छ । फिल्मको दोस्रो भागमा पुराना र नयाँ कलाकारहरूको उत्कृष्ट सम्मिश्रण देख्न पाइनेछ । अघिल्लो भागमा रुचाइएका कलाकारहरू पल शाह, विपना थापा, प्रदीप रावत र गजित बिष्टले यो सिक्वेलमा पनि निरन्तरता पाएका छन् । यस फिल्ममा अभिनेताद्वय आकाश श्रेष्ठ र नरेन खड्का नयाँ अनुहारको रूपमा जोडिएका छन् ।

फिल्मका लागि मुख्य अभिनेत्रीहरू र अन्य केही चरित्रका लागि कलाकारको छनोट कार्य अझै जारी छ । केही दिनभित्रै सम्पूर्ण कलाकारको टुङ्गो लागिसक्ने निर्माण पक्षले जनाएको छ । आर्या इन्टरटेन्टमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्मको वितरणको जिम्मा आर आर फिल्मस्ले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटल लाई दिइएको छ ।
@parikalanewsofficial
यो फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली हुन् । निर्देशक पन्तका अनुसार अहिले फिल्मका लागि आवश्यक प्राविधिक टोलीको छनोट भइरहेको छ । कलाकार र प्राविधिक टोलीको टुङ्गो लागेसँगै आगामी केही दिनमै फिल्मको छायांकन कार्यतालिका सार्वजनिक गरिनेछ । निर्माण टिमले एक महिना अगाडि नै दशैंमा फिल्म ल्याउने घोषणा गरेको थियो, जसलाई शुभमुहूर्तमा पुनः पुष्टि गरिएको छ ।

















Discussion about this post