इटहरी/ सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापाको प्रमुख भूमिका रहेको फिल्म ‘जार’को अफिसियल रिलिज मिति घोषणा गरिएको छ । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित यस फिल्मलाई फेरी टेल पिक्चर्सले आगामी बैशाख २६ अर्थात् मे ९ मा प्रदर्शनमा ल्याउने भएको हो । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै यो घोषणा गरेको हो ।
नेपालभित्र फिल्म वितरणको जिम्मा एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन् भने अन्तर्राष्ट्रिय स्तरमा सेभेन सिज सिनेमा वितरकका रूपमा रहेका छन् । निर्माण टिमले यसै साता वितरण कम्पनीहरूसँग सम्झौता गर्दै आधिकारिक प्रदर्शन मिति तय गरेको हो । सार्वजनिक पोस्टरमा सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापालाई क्यारेक्टर लुक्समा देखाइएको छ ।
‘लायर्स डाइस’बाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड जितेकी गीताञ्जलीले टोरन्टो, बुसान, लस एन्जलस र न्युयोर्कजस्ता विश्व प्रसिद्ध फिल्म फेस्टिभलहरूमा आफ्नो अभिनय कौशल प्रस्तुत गरिसकेकी छिन् । नेटफ्लिक्सको ‘सेक्रेड गेम्स’ सिरिजमा समेत उनले अभिनय गरेकी छिन् । निर्देशक फूर्वा छिरिङ लामाको निर्देशनमा बनेको यो फिल्म सिक्किममा छायांकन गरिएको हो ।

अधिकांश कलाकार र प्राविधिक टिम भारतबाट नै रहेका छन् । त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा कार्यकारी निर्माताका रूपमा रहेको फिल्म होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण गरिएको हो ।
सन् १८०० को दशकको अन्त्यतिर नेपाली समाजमा भएको एक यथार्थ घटनामा आधारित यो फिल्मले सामाजिक र सांस्कृतिक परिवेशलाई उजागर गर्नेछ । सरवानन इलावार्सुको छायांकन, अखिलेश राईको सम्पादन र झुमा लिम्बु तथा गंगा थापाको संगीत फिल्ममा समावेस गरिएको छ । नेपाल र भारतसहित विश्वव्यापी रूपमा एकसाथ प्रदर्शन हुने यो फिल्मले ऐतिहासिक कथाको विशिष्ट शैलीमा प्रस्तुति दिने अपेक्षा गरिएको छ ।












Discussion about this post