इटहरी/ २०७१ सालमा कुनै ठूलो प्रचारबिना रिलिज भएको फिल्म ‘रेशम फिलिली’ले एउटा गीतमार्फत इतिहास रच्यो । ‘जालमा’ अर्थात् ‘पारी त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो’ बोलको गीतले यति ठूलो लोकप्रियता कमायो कि नेपाली संगीत र फिल्म क्षेत्रमा यसले नयाँ युगको सुरुवात गर्यो । त्यो समय ‘भाइरल’ शब्द धेरैका लागि नौलो थियो, तर ‘जालमा’ गीतले यसको वास्तविक अर्थ दर्शायो ।
अब, यो ऐतिहासिक फिल्मको सिक्वल ‘फेरि रेशम फिलिली’ले पुनः दर्शकमाझ आफूलाई प्रस्तुत गर्न फागुन १४ को मिति रोजेको छ । फिल्मको प्रचारलाई बलियो बनाउन निर्माण पक्षले ‘जालमा’कै सिक्वल, ‘फेरि जालमा’ गीत तयार पारेको छ । यो गीतको छायांकन हालै सम्पन्न भएको छ भने तस्बिरहरू सार्वजनिक भइसकेका छन् ।

सार्वजनिक तस्बिरमा मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टलाई रोमान्टिक मुडमा, रुखाकृतिको अगाडि बसिरहेको देख्न सकिन्छ । रंगीन छाताहरू रुखमा सजिएको पृष्ठभूमिले दृश्यलाई झनै मनमोहक बनाएको छ । गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत र मानस राजको शब्द संयोजनमा प्रस्तुत भएको छ । गायनमा कालीप्रसादसँगै सोमिया बराईलीको स्वर छ भने कोरियोग्राफी प्रदीप लामाले गरेका छन् ।
सिक्वलको निर्देशन निरोज महर्जनले गरेका छन् । फिल्ममा पुराना टिमका धेरै सदस्य कायम रहेका छन्, जसले फिल्मको मौलिकता जोगाउन मद्दत गर्नेछ । यो फिल्म ‘फेरि रेशम फिलिली’ को कलाकारमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे र रविन्द्र झालगायतका कलाकारको अभिनय देख्न सकिन्छ । गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रीव्युसनले वितरण गर्न लागेको यो सिक्वलले ‘रेशम फिलिली’को जादु फेरि दोहोर्याउन सक्ला भन्ने अपेक्षा गरिएको छ ।












Discussion about this post