इटहरी/ नेपाली समाजमा महिला हिंसा र बाल विवाहजस्ता गम्भीर मुद्दालाई उजागर गर्ने फिल्म ‘जुनाः एक व्यथा’को पहिलो गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ । यदु राई लकान्द्रीको स्वर, जीवन सेञ्चुरीको शब्द र रमेश सेञ्चुरीको संगीतले सजिएको यो गीतले बाल विवाहपछि श्रीमान् को घरमा पुगेकी एक महिलाले भोगेको पीडा र यातनालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ ।
गीतको भिडियोमा अस्मिता ढकालको मर्मस्पर्शी अभिनय देख्न सकिन्छ । माघ २५ गते प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके, र केशव अधिकारीलगायतका कलाकारको अभिनय छ । जीवन सेञ्चुरीले निर्देशन गरेको यो फिल्मका निर्माता दीपकप्रसाद घिमिरे हुन् । हेर्नुस् भिडियो ।
निर्देशक सेञ्चुरीका अनुसार, फिल्मले नेपाली समाजमा व्याप्त बाल विवाह, जबर्जस्ती करणी, अनमेल विवाह, बहुविवाह, बलात्कार, छाउपडीजस्ता कुप्रथाहरूको अन्त्य गर्न सशक्त सन्देश दिने उद्देश्य राखेको छ । राजबहादुर सानेको कथा लेखन, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, तथा रामेश्वर हुमागाईंको छायांकन रहेको फिल्म सामाजिक परिवर्तनको अभियानको रूपमा प्रस्तुत भएको छ ।












Discussion about this post