इटहरी/ केही समयअघि निर्माण घोषणा गरिएको फिल्म ‘जनै हराएको बाहुन’मा प्रमुख भूमिकामा विजय बराल देखिने भएका छन् । अभिनेता बरालसँग आज निर्माण युनिटले कागजी सम्झौता गरेको हो । यो फिल्मका लागि बराल रहने हल्ला चलेपनि कागजी सम्झौता भने आज मात्रै भएको फिल्मका एसोसिएट निर्देशक मानिस राउतले जानकारी गराए ।
बरालको ‘पूर्ण बहादुरको सारङ्गी’ पश्चात प्रमुख भूमिका रहने फिल्मका रुपमा उनले ‘जनै हराएको बाहुन’ सम्झौता गरेका हुन् । बरालले भने “कथाले मन छोएकाले यो चलचित्रमा काम गर्न मन लाग्यो।” प्रेम गीत ३ बाट चर्चामा आएका राउतले यही फिल्मबाट एसोसिएट निर्देशकका रुपमा डेब्यु गर्दैछन् । यो सँगै उनी फिल्मका प्रमुख कलाकार मध्येका एक समेत हुन् ।

हिमाल न्यौपानेको निर्देशनमा बन्ने यो फिल्मले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोगेका चुनौती र त्यसले ल्याएको परिवर्तनलाई कथा बनाएको छ । पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको यस फिल्ममा कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । निर्माण टोलीका सदस्य बिमल न्यौपानेले यसलाई एक अनौठो र रोमाञ्चक यात्राको रूपमा प्रस्तुत गर्ने बताएका छन् ।
निर्माण टिममा कमल न्यौपाने, आर.के. मानन्धर, सीआर बस्नेत, बिमल न्यौपाने र निशान्त श्रेष्ठ रहेका छन् । फिल्मलाई नवीन गुरुङले छायांकन गर्नेछन् भने क्रिएटिभ डाइरेक्टर सम्राट महर्जन ‘ज्याक’ रहेका छन् । यो फिल्मको भिएफएक्स सुपरभाइजर मयंक निरौला हुन् । फिल्मको छायांकन यो वर्षको अन्त्यसम्ममा सुरु गर्ने लक्ष्य राखिएको छ भने प्रदर्शन मिति २०८२ साललाई लक्षित गरिएको छ । अन्य कलाकार र प्राविधिक टोलीको विवरण छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ ।












Discussion about this post