इटहरी/ जब समाजमा भ्रष्टाचार र अन्यायले सीमा नाघ्छ, त्यसले नागरिकको सहनशीलतालाई कसरी विद्रोहमा बदल्न सक्छ ? यस्तै प्रश्नहरूको सशक्त जवाफ सहितको कथावस्तु बोकेको नेपाली फिल्म ‘महाभोज’को छायाङ्कन मङ्गलवारदेखि पोखराको घाचोकमा सुरु भएको छ । ४५ दिनको छायाङ्कन तालिकासहित निर्माण थालिएको यो फिल्मले सामाजिक जागरण र न्यायको आवाज उठाउने प्रयास गर्नेछ ।
निर्देशक दिनेश राउतले आफ्नो आठौँ फिल्मका रूपमा निर्देशन गरिरहेको ‘महाभोज’ काे पहिलो दृश्यमा अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाको उपस्थिति थियो । यसअघि काठमाडौँमा स्क्रिप्ट र क्यामेराको विधिवत् पूजा गरिएको थियो । यो फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, वसुन्धरा भुसाल, गौमाया गुरुङ, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारको अभिनय रहेको छ ।
‘महाभोज’ले सर्वसाधारणको जीवनमा हुने विश्वासघात, अन्याय र भ्रष्टाचारका कारण उत्पन्न विद्रोहको कथा प्रस्तुत गर्नेछ । निर्देशक राउतका अनुसार, यो फिल्मले सामाजिक प्रणालीका कमजोरीहरू उजागर गर्दै नागरिकको जिम्मेवारी र पारदर्शिताको महत्त्वलाई उठान गर्नेछ ।
फिल्मलाई क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार पारिदैछ । यसको कार्यकारी निर्माताहरू किरण नेपाली र सुदिप ढकाल हुन् भने विकास सुवेदीले लेखनको जिम्मेवारी सम्हालेका छन् । छायाङ्कन राजेश श्रेष्ठले गर्दै छन् भने सम्पादन निमेष श्रेष्ठको रहनेछ । फिल्मको अन्य प्राविधिक टिममा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, साजन बस्ताकोटी कला निर्देशक, सरस्वती श्रेष्ठ केश स्टाइलिस्ट, समरा जोशी मेकअप आर्टिस्ट र आशिष पौडेल कस्ट्युम डिजाइनर रहेका छन् । काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले ‘महाभोज’लाई नेपालभरि वितरण गर्नेछ।












Discussion about this post