इटहरी/ फागुन २३ गतेदेखि रिलिज हुने फिल्म ‘होस्टेल ३’ को गीत ‘टिक टिक टिक’ले सार्वजनिक भएको केही दिनमै युट्युब र सामाजिक सञ्जालमा लोकप्रियता कमाएको छ । क्याम्पस जीवनको कथा बोकेको यो फिल्मको गीत अहिले नेपालमा युट्युब ट्रेन्डिङको म्युजिक क्याटोगरीमा ९ औँ स्थानमा रहेको छ भने यो उक्लिने क्रम निरन्तर छ । यस्तै कतार, युएई र कुवेतजस्ता देशहरूमा पनि शीर्ष स्थानमा ट्रेन्डिङ भइरहेको छ ।
गीतले हालसम्म करिब १० लाख बढी भ्युज पाइसकेको छ र यस गीतका अडियो क्लिपहरुमा बनेको टिकटक तथा रिल्सले यो गीतको लोकप्रियतालाई थप बलियो बनाएको छ । फिल्मका मुख्य कलाकारहरूको दमदार नृत्य र अलमोडा राणा उप्रेतीको शब्द, सङ्गीत र स्वरमा सजिएको यो गीतको विशेष पंक्तिहरू ‘टिक टिक टिक, जाने समयसँग सिक साथी, ठिक ठिक ठिक, एक दिन हुन्छ सबै ठिक’ सामाजिक सञ्जालमा अत्यधिक रुचाइएको छ । हेर्नुस् भिडियो।
यसलाई प्रविण सिंहले कोरियोग्राफ गरेका छन् भने सन्तोष राणाले र्याप भोकल दिएका छन् । ‘होस्टेल’ शृङ्खलाको तेस्रो संस्करण नेपालको चर्चित शृङ्खला ‘होस्टेल’ को तेस्रो भाग ‘होस्टेल ३’ ले क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथालाई पर्दामा उतार्नेछ । यस फिल्मको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कलाकारहरूमा पारस बम (कुलब्वाई), रिहान गिरि, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली लगायतका छन् ।
यो फिल्म सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँग सहकार्यमा निर्माण गरिएको हो । फिल्मको प्रमुख निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी रहेका छन् भने कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । नेपालसँगै फागुन २३ देखि नै अन्य देशहरूमा पनि प्रदर्शन हुने तयारीमा रहेको ‘होस्टेल ३’ ले नेपाली फिल्मप्रति दर्शकहरूको आशा र उत्साहलाई थप बलियो बनाएको छ । यसका नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स हुन् ।















Discussion about this post