इटहरी/ काठमाडौंको होटल याक एन्ड यति होटलमा आइतबार सम्पन्न पहिलो अडिसनसँगै १५औँ ‘आईसी डिजाइनर रनवे’ को यात्रा सुरु भएको छ । पुरुष र महिला मोडल गरेर कुल २४० जना मोडलले पहिलो अडिसनमा भाग लिए । फेसन शोको व्यवस्थापन जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका अनुसार आगामी साता विराटनगर, पोखरा र बुटवलमा पनि छनोटका लागि अडिसन गरिनेछ ।
छनोट प्रक्रियामा निर्णायकको रूपमा फेसन कोरियोग्राफर आस्था पोखरेल, मिष्टर नेपाल २०२५ सन्तोष लोक्सम लिम्बु, फेसन मोडल निमेश कपाली, मिस नेपाल २०२० नम्रता श्रेष्ठ र व्यावसायिक फोटोग्राफर राजभाई सुवाल सहभागी थिए । काठमाडौं र काठमाण्डौ बाहिर हुने अडिसनबाट ३० महिला र ६ पुरुष गरी ३६ मोडललाई अन्तिम फेसन शोका लागि छानिने योजना आयोजकको रहेको छ ।

आगामी मार्च २८ र २९ गते काठमाडौंको होटल याक एन्ड यतिमा आयोजना हुने यो बृहत शोमा छानिएका मोडलहरूले र्याम्पवाक गर्नेछन् । यसअघि एकदिन आयोजना हुँदै आएको यो फेसन शो यसपटक थप आकर्षक बनाउन दुई दिनसम्म चल्ने गरी विस्तार गरिएको छ । शोमा आइसी कलेजका विद्यार्थीहरूले तयार पारेका विभिन्न पहिरन फरक सिक्वेन्समा प्रदर्शन गरिनेछ ।

आयोजकका अनुसार यो वर्षको शोमा नेपालका प्रख्यात सेलिब्रेटीहरू र्याम्पवाकमा देखिनेछन् । नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाका अनुसार ‘आईसी डिजाइनर रनवे’ नेपाली फेसन डिजाइनरको क्षमता उजागर गर्दै उनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने प्लेटफर्म हो । आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले पनि शोको मुख्य उद्देश्य नेपाली फेसनलाई विश्वसामु चिनाउनु रहेको बताउँदै यसपटकको संस्करण अझ विशेष हुने दाबी गरिन् ।




















Discussion about this post