इटहरी/ आगामी चैत २९ गते नेपाली नयाँ वर्षलाई लक्षित गर्दै सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘पिताम्बर’को आधिकारिक टिजर सार्वजनिक भएको छ । टीजर सार्वजनीक भएसँगै यसको चर्चा अझै चुलिएको छ । यो फिल्ममा दर्शकले प्रतिक्षा गरिरहेका चर्चित कलाकारहरूको सशक्त जमघट रहेको छ । एक्सन तथा वार जानरामा निर्माण गरिएको फिल्ममा अभिनेता प्रदीप खड्का हालसम्मकै फरक अवतारमा प्रस्तुत भएका छन् । चकलेटी हिरोको रुपमा स्थापित भएका उनलाई यो फिल्मबाट एक्सन हिरोको रुपमा पनि देख्न सकिने भएको छ ।
यस्तै अभिनेता सौगात मल्ल र दयाहाङ राई समेत एक्सन लुक्समा छन् । सार्वजनीक टीजरले फिल्मको प्रचार र हाईपलाई बल पुर्याउने देखिन्छ । प्रदीप, दयाहाङ, सौगातसँगै आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरि मल्ल, रवीन्द्र झा लगायतका चर्चित कलाकारहरूको प्रमुख भूमिका रहेको यो फिल्मले भव्य कास्टिङकै कारण पनि चर्चा बटुलिरहेको छ । हेर्नुस् टीजर ।
यो फिल्म ‘पिताम्बर’ कृष्ण चौलागाईंको निर्देशनमा बनेको हो भने विशाल चौलागाईंले निर्माण गरेका हुन् । यो फिल्ममा पूरूषोत्तम प्रधान र आद्या लामिछाने सह-निर्माताका रूपमा रहेका छन् । स्क्रीनप्ले तथा संवाद प्रसिद्ध लेखक प्रदीप भारद्वाज र अभिमन्यु निरवीले तयार पारेका छन् । फिल्मको छायांकन सह निर्मातासमेत रहेका पूरूषोत्तम प्रधानले गरेका छन् भने सम्पादन बन्धे प्रसादको रहेको छ । फिल्ममा आशिष अविरल र बाबुल गिरीलेको संगीत रहेको छ भने हिमाल केसीको एक्शन निर्देशन रहेको छ ।
‘पिताम्बर’को पोष्टर र टिजर डिजाइन राकेश दाहाल (नोभिस आर्ट्स) ले गरेका हुन् । बुढासुब्बा डिजिटलले डिजिटल पार्टनरको रूपमा सहकार्य गरेको यो फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ । फिल्मको निर्माण प्रक्रिया हेर्दा नै गुणस्तरमा कुनै सम्झौता नगरेको देखिन्छ । ‘पिताम्बर’ले आफ्नो कथावस्तु र पात्रहरूको गहिरो प्रस्तुति मार्फत दर्शकलाई बाँध्न सफल हुने अपेक्षा गरिएको छ । यो टिजरले फिल्मप्रतिको कौतुहलता अझै बढाएको छ भने अब ट्रेलरको प्रतिक्षामा दर्शकहरू रहनु स्वाभाविक देखिन्छ ।














Discussion about this post