इटहरी/ फिल्म ‘रंगी’को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक गरिएको छ । आगामी फागुन २ गतेदेखि प्रदर्शनमा आउने फिल्म “रंगी”को यो गीत काठमाडौंमा आइतबार आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको हो । सार्वजनीक गीतमा आनन्द कार्की र सुजता केसीको स्वर, दुर्गेश थापाको शब्द तथा संगीत रहेको छ । विमल चिनलको प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङमा तयार पारिएको गीतलाई ओएसआर डिजिटलले सार्वजनिक गरेको हो ।
सलोन बस्नेत र नम्रता श्रेष्ठको जोडीको आकर्षक प्रस्तुति रहेको गीतमा दिलीप रायमाझी, आयुषी ढकाल, विशाल पहारी र उत्तम केसी पनि फिचर्ड छन् । कविराज गहतराजको कोरियोग्राफीले सजिएको यो डान्सिङ नम्बरले मायाको भावलाई रमाइलो शैलीमा प्रस्तुत गरेको छ । संगीतकार दुर्गेश थापाले १० वर्षसम्म दर्शकको मनमा बसिरहने खालको मेलोडी दिन खोजेको बताए । हेर्नुस् गीता तथा भिडियो ।
यता गायक आनन्द कार्कीले दुर्गेश थापाको शब्द र संगीतमा गाउन पाउनु आफूका लागि विशेष क्षण भएको बताए । फिल्मका अभिनेता तथा प्रस्तुतकर्ता सलोन बस्नेतले अष्ट्रेलियामा रहँदा भर्चुअल माध्यमबाट यो गीत सुनेको स्मरण गर्दै उत्कृष्ट गीत दर्शकलाई दिन पाउँदा उत्साहित भएको बताए । सान्भी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘रंगी’मा सलोन, नम्रता र दिलीपसँगै सुमिन गुरुङ, आयुषी ढकाल, उत्तम केसी र विशाल पहारीको अभिनय रहेको छ ।
यो फिल्मबाट नम्रताले अभिनेत्रीमा डेब्यु गर्दै छिन् । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको संयुक्त निर्माण रहेको यस फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत तथा प्रिज्मा श्रेष्ठको मेकअप रहेको छ । बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन रहेको फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।














Discussion about this post