इटहरी/ गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यु निर्देशनमा तयार भएको फिल्म ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । आगामी चैत्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा सपुतको निर्देशन मात्र नभई गीत-संगीत, कथा तथा पटकथा पनि उनकै रहेको छ ।
सार्वजनीक पश्चात यो गीतको भिडियो यतिबेला युट्युब ट्रेण्डिङको म्युजिक क्याटोगरी अन्तर्गत ट्रेण्डिङको छैठौं स्थानमा पुगेको छ । यस्तै सार्वजनिकको २४ घण्टा पूरा हुँदैगर्दा भिडियोलाई ७ लाख २० हजार माथि भ्युज पुगेको छ । सार्वजनिक गीतमा शान्ति श्री परियार र सपुतकै स्वर सुन्न सकिन्छ भने शब्द र संगीत सपुतको रहेको छ ।
गीतको भिडियोमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी र खड्क बहादुर पुन (खबपु) लाई फिचर गरिएको छ । हिमाली भेगको मौलिक सांस्कृतिक पक्ष झल्काउने यस गीतमा मौसम हिमालीको कोरियोग्राफी र प्रविन भट्टको सम्पादन छ । बागलुङको ग्रामीण परिवेशलाई घाँसदाउरा, यानिमाया, सालैजो र मेलापातजस्ता स्थानीय मौलिकतासहित प्रस्तुत गरिएको गीतले दर्शकको ध्यान आकर्षित गरिरहेको छ । हेर्नुस् गीत तथा भिडियो ।
‘वसन्त’को छायांकन बागलुङ, काठमाडौं तथा तराईका विभिन्न स्थानमा गरिएको हो । फिल्ममा अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरेलगायतका अनुभवी कलाकारको अभिनय रहेको छ । गायक तथा निर्देशक सपुतले आफ्नो जन्मथलोको सांस्कृतिक पक्षलाई फिल्ममा सजीव ढङ्गले प्रस्तुत गर्न खोजेको बताएका छन् ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यो सोसल ड्रामा फिल्म विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने संघर्षमाथि आधारित छ । फिल्ममा निर्माताका रूपमा मोहन विश्वकर्मा र बिन्दु बोहोरा छन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ रहेका छन् । छायांकनको जिम्मा सुसन प्रजापतिले लिएका हुन् । काठमाण्डौ उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले वितरणको जिम्मेवारी लिनेछन् ।














Discussion about this post