इटहरी/ नेपाली फिल्म ‘खेल’को अफिसियल पोस्टर सार्वजनिक गर्दै आगामी २०८२ सालको वैशाख १२ गतेलाई रिलिज मिति तय गरिएको छ । यो फिल्ममा अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहनेछ भने उनीसँगै हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम र निकिता आचार्यको अभिनय पनि सशक्त देखिन्छ । बलिउडका दर्जनभन्दा बढी फिल्ममा सह निर्देशन गरेका अनुराग प्रधान र नेपालमा लामो समयदेखि सह निर्देशकको रूपमा काम गरिरहेका आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेको यो फिल्म रहस्य र थ्रिलरसँग जोडिएको छ ।
सार्वजनीक पोस्टरमा प्रस्तुत गरिएको विद्यालय जीवनमा आधारित किशोरीहरूको कथाले फिल्मलाई थप रोचक बनाएको छ । ‘Been 6 years, still missing’ लेखाइले हराएको व्यक्तिको रहस्यमय खोजीलाई सङ्केत गर्छ भने पाँच कोणीय ताराको पृष्ठभूमिले रहस्य र अलौकिक घटनालाई दर्शाउँछ । फिल्मको कथा चार जना साथीहरूको वरिपरि घुम्छ, जसले एक भयानक घटनाको सामना गर्नुपर्छ ।

लोककथा, परम्परा र अध्यात्मलाई थ्रिलर शैलीमा प्रस्तुत गर्दै फिल्मले कुनै पनि खेललाई निष्ठापूर्वक नखेल्दा जीवनमा पर्ने नकारात्मक प्रभावलाई चित्रण गर्ने प्रयास गरेको छ । सुरक्षा पन्तले काठमाडौँको होस्टेलमा बस्दै अध्यात्ममा आधारित खेल खेल्ने चार साथीहरूको रूपमा काम गरेकी छन् । निर्माता लुइसराज महर्जनका अनुसार यो फिल्म विश्वस्तरका प्रविधिको प्रयोग गरेर तयार गरिएको छ ।
छायाङ्कनका लागि विशेष क्यामेरा र लेन्स भारतबाट झिकाइएको छ । सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको यस फिल्मका कार्यकारी निर्माता लुइसराज महर्जन हुन् । फिल्मको निर्माता आशिषराज महर्जन, सह निर्माता कुनालराज गुरुङ र रहिशराज महर्जन रहेका छन् । फिल्मको कथा आशिषराज महर्जनले तयार गरेका हुन् । पटकथा अभितेन्द्र र अनुराग प्रधानले लेखेका छन् भने संवाद विष्णु गैरेले लेखेका छन् ।
छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् । यस्तै सम्पादन आशिषराज महर्जनले गरेका छन् भने ध्वनि डिजाइन विकल प्रधानले गरेका छन् । फिल्मको वितरण जिम्मा डिसिएनले लिएको छ भने पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको हो । रङ्ग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला र मेकअप दिपु पौडेलको रहेको छ । प्रोडक्सन म्यानेजर यमप्रसाद ओलीले व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन् ।












Discussion about this post