इटहरी/ आउँदो माघ २५ गतेदेखि प्रदर्शनमा आउन लागेको निर्देशक प्रशान्त तामाङद्वारा निर्देशित फिल्म ‘सारंग’को टिजर बिहीबार ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको छ । झण्डै एक मिनेट लामो टिजरले बाबुआमाको मतभेदले बच्चाको मानसिक अवस्थामा पर्ने प्रभावलाई उठान गरेको छ भने साथीहरूसँगको प्रेम र समर्पणको भावलाई पनि समेटेको छ ।
शहरिया जीवनशैली र आपसी सम्बन्धलाई कलात्मक रूपमा प्रस्तुत गरिएको टिजरले दर्शकलाई भावनात्मक बनाउने संकेत दिएको छ । कोरियोग्राफरका रूपमा परिचित निर्देशक तामाङको लेखनमा बनेको यस फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, बिश्व स्याङ्बो, दीपीका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । हेर्नुस् भिडियो ।
यो फिल्ममा बालकलाकार सम्राट थापा र आदित्य कार्कीले प्रमुख बाल पात्रको भूमिका निर्वाह गरेका छन् । निर्देशक तामाङका अनुसार ‘सारंग’ले बाल मनोविज्ञान, बालअधिकार र धनी-गरिब परिवारबीचको खाडलजस्ता गम्भीर विषयवस्तुहरूलाई यथार्थपरक रूपमा चित्रण गर्नेछ । ‘दर्शन बुद्ध फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता प्रेम तामाङ र फूलमाया तामाङ हुन् ।
यस्तै पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माताका रूपमा छन् । शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, डिपी खनालको गीत र सुष्मा राईको कोरियोग्राफी रहेको यस फिल्मको छायांकन गोपाल रायले गरेका हुन् । मित्र डि गुरुङले सम्पादन गरेको फिल्मलाई स्टेशन ५ ले वितरण गर्नेछ । टिजर सार्वजनिक भएसँगै ‘सारंग’ले दर्शकमा गहिरो उत्सुकता बढाएको छ ।














Discussion about this post