इटहरी/ गायक तथा मोडल दुर्गेश थापाले सार्वजनिक गरेको नयाँ गीत ‘दुश्मन हेरेको हेर्यै’ युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा पुग्न सफल भएको छ । सार्वजनिक भएको ९ दिनमै ३० लाखभन्दा बढी भ्युज पाएको यस गीतले दुर्गेशको क्रेजलाई थप उचाइमा पुर्याएको छ । गीतले युट्युबको म्युजिक क्याटेगोरीमा पहिलो स्थान कब्जा गर्नुका साथै दर्शकहरूको ठूलो माया र सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।
गीतको भिडियाे युट्युवमा सार्वजनिक भएदेखि नै छोटो भिडियो साझेदारी साइट टिकटक तथा रिल्समा समेत यो गीतले कब्जा जमाएको छ । धेरैले यो गीतको अडियो क्लिपमा भिडियो बनाएर आफ्ना दुश्मन प्रति जवाफ फर्काएको देख्न सकिन्छ । फ्यानहरूको साथसंगै दुश्मन पनि कमाएका दुर्गेशले आफ्ना प्रगतिलाई लक्षित गर्दै यो गीत तयार पारेका हुन् । समीक्षात्मक भावमा प्रस्तुत गरिएको गीतमा उनले “हेर्दै जा, इन्डस्ट्रीमाको टिक्छ” भन्दै आफ्नो सफलतालाई चुनौतीको रुपमा देखाएका छन् । हेर्नुस् भिडियो ।
गीतमा दुर्गेशलाई वरिष्ठ गायक आनन्द कार्कीले समेत साथ दिएका छन्, जसले गीतको अन्त्यमा मुख्य लाइन गाएर थप आकर्षण थपेका छन् । गीतको भिडियोमा दुर्गेशसँगै प्रियंका कार्की र कविता नेपालीको बोल्ड अभिनय देख्न सकिन्छ । प्रियंका दुश्मनको भूमिकामा प्रस्तुत हुँदै अन्त्यमा साथी बनेको देखाइएको छ । भिडियोमा एक्शन दृष्यको राम्रो संयोजन गरिएको छ, जहाँ दुर्गेश र कविताले दुश्मनहरूलाई तहसनहस गरेको देखिन्छ ।
डायनामिक स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा गोपाल देवको बाँसुरी, हेमन्त कञ्चाको सारंगी र समिर जैरुको शहनाईको प्रयोगले परम्परागत र आधुनिकताको राम्रो समिश्रण गरेको छ । गीतमा दुर्गेश, आनन्द कार्की, समीक्षा अधिकारी र एलीना चौहानको स्वर समावेश छ । भिडियोको छायांकन रुपेश थापाले गरेका हुन् भने द्वन्द्व निर्देशन राजु तामाङको छ । सम्पादन, कलरिङ र भिएफएक्स मिलन विश्वकर्माले गरेका छन् भने सञ्जय विश्वकर्माले कोरियोग्राफी गरेका हुन् । दुर्गेश थापा र बिजु पार्कीको संयुक्त निर्देशनमा तयार पारिएको भिडियोलाई दुर्गेश थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।














Discussion about this post