इटहरी/ फिल्म ‘मिसिङ: केटी हराएको सूचना’को ५ मिनेट १६ सेकेन्डको नयाँ ट्रेलर सार्वजनिक भएको छ । माघ ११ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा नाजिर हुसेन र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ । ट्रेलरले पहाडी र मधेशीबीचको मेलमिलापको कथा खोज्दै दुई फरक समुदायका पात्रहरूको यात्रामा आइपर्ने चुनौती र उतारचढावलाई केन्द्रमा राखेको छ ।
डेटिङ एप सामाजिक सञ्जालमा भेटिएका नाजिर र सृष्टिको यात्रालाई रोचक तरिकाले प्रस्तुत गरिएको छ, जहाँ नाजिर राम र सृष्टि सीता बनेका छन् । बुद्धि तामाङको दमदार आवाजले ट्रेलरलाई फरक ढंगले प्रस्तुत गरिएको छ । ट्राई सिटी पिक्चर्सको ब्यानरमा निर्माण भएको यस फिल्मलाई अनुभवी निर्देशक दीपेन्द्र गौचनले निर्देशन गरेका हुन् । हेर्नुस् ट्रेलर।
३२ वर्षअघि चर्चित डकु-ड्रामा ‘उजेली’ निर्देशन गरेका दीपेन्द्रले यस पटक ‘मिसिङ’मार्फत समाजमा गहिरो सन्देश दिने प्रयास गरेका छन् । यो फिल्मको कथा पनि उनैले लेखेका छन् ।फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको समेत अभिनय रहेको छ ।
यो फिल्ममा विशेष भूमिकामा अमितेष शाह रहेका छन् । नकिम उद्दिन कार्यकारी निर्माता रहेको यो फिल्मलाई अमर महर्जनले खिचेका हुन् । फिल्मको वितरणको जिम्मा एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले लिएका छन् भने डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । ट्रेलर सार्वजनिक भएसँगै दर्शकमा फिल्मप्रति कौतुहलता पैदा भएको छ ।














Discussion about this post