इटहरी/ यही शुक्रवार अर्थात पुस २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्साङ’को अग्रिम बुकिङ खुलेसँगै देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा राम्रो शो पाएको छ । यो फिल्मले ग्रामीण क्षेत्रको अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित रहेर कथा प्रस्तुत गर्नेछ । क्यूएफएक्सले उपत्यकाबाहिर २८ शो उपलब्ध गराएको छ ।
यस मध्य कोशी प्रदेशमा ३ ठाउँमा रहेका क्यूएफएक्सले पहिलो दिन ९ शो दिएको छ । इटहरीमा ४ शो, विराटनगरमा ३ र विर्तामोडको क्यूएफएक्सले २ शो दिएको छ । यस्तै इटहरीको इलाईट सिनेमा हलले ४ शो, बिर्तामोडको पाथिभरा सिनेप्लाजा ले ४ शो र दमकको डिम्याक्स हलले ४ शो दिएको छ । यस बाहेकका कोशी प्रदेशका अन्य हलहरुले भने बुकिङ खुलाउने क्रममा छन् ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यका भित्रका आउटलेटमा भने २५ शो तोकेको छ । यस्तै दोस्रो ठूलो चेन आईएनआई सिनेमाजले आफ्ना तीनवटा आउटलेटमा १५ शो प्रदान गरेको छ । त्यसैगरी, एफ क्युब सिनेमाज र विएसआर मुभिजले समान ६-६ शो तोकेका छन् । बिग मुभिज र वान सिनेमाजमा भने बुकिङ खुल्न बाँकी छ ।
यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङलगायतका कलाकारहरूको अभिनय रहेको छ । २ घन्टा ५ मिनेट लामो यस फिल्मले परिवारमा देखिने समस्या र समाजको यथार्थ चित्रण गर्नेछ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको ‘कार्साङ’का निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन ।
यो फिल्मको सह-निर्मातामा गोविन्द बोहरा र प्रस्तुतकर्तामा आङछिरिङ शेर्पा रहेका छन् । छ महिनापछि अभिनेता दयाहाङ राई अभिनीत नयाँ फिल्म रिलिज हुन लागेको हुँदा ‘कार्साङ’प्रति दर्शकको आकर्षण उच्च रहेको छ । वर्ड अफ माउथ बलियो बनेमा शो थपिँदै जाने र फिल्मले राम्रो व्यापार गर्ने निर्माण टिमले विश्वास व्यक्त गरेको छ ।














Discussion about this post