इटहरी/ प्रकाश सपूत र परीक्षा लिम्बुको प्रमुख अभिनय रहने नेपाली फिल्म ‘सोल्टिनी’को छायाङ्कन मङ्गलवार इलामको रोङस्थित सानो पाथीभरा मन्दिरमा शुभ मुहूर्तसँगै सुरु गरिएको छ । निर्देशक अर्जुन सुवेदीले ३१ दिनको तालिकासहित फिल्मको छायाङ्कन इलाम र भोजपुरका रमणीय स्थलहरूमा हुने जानकारी गराएका छन् ।
फिल्मको पहिलो महत्त्वपूर्ण शट मन्दिर परिसरमा नै अभिनेता प्रकाश सपूत, अभिनेत्रीहरू परीक्षा लिम्बु र सब्बु गुरुङसहित कलाकार सुन्दर धितालले दिएका थिए । यस फिल्मले समाजमा विद्यमान अमानवीय व्यवहार र जातीय भेदभावविरुद्ध आवाज उठाउनुका साथै दुई प्रमुख पात्रबीचको प्रेम कथा प्रस्तुत गर्नेछ ।
फिल्ममा प्रकाश सपूतले ‘भीमसेन पोखरेल’ र परीक्षा लिम्बुले ‘दिलासा राई’को भूमिका निर्वाह गर्नेछन् । यो जोडी पहिलो पटक सँगै पर्दामा देखिन लागेको हो । साथै, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतका कलाकारहरूको समेत अभिनय रहनेछ ।

प्लानेट थ्री फिल्म्सको प्रस्तुति रहेको ‘सोल्टिनी’लाई नेपसिने र योलो इन्टरटेन्मेन्टले सहकार्यमा निर्माण गरिरहेका छन् । रेजिना बिस्ट र संसार चौलागाईँ निर्माताका रूपमा रहेको यो फिल्मको छायाङ्कन सुशन प्रजापतिले गर्नेछन् भने संगीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिनेछन् ।
फिल्मको पब्लिसिटी ट्राइडेन्ट कन्सेप्टले गर्नेछ भने आरआर फिल्मस् प्रा.लि.ले नेपालमा र नेपसिनेले विदेशमा वितरणको जिम्मेवारी लिएका छन् । डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको यो फिल्मलाई २०८२ साल असोज ३ गते अर्थात संविधान दिवसको अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।














Discussion about this post