इटहरी/ फिल्म ‘फिरफिरे फिरिरी’ले हास्यसंगै डरको मिठो मिश्रण पस्कने देखिएको छ । हालै सार्वजनिक ट्रेलरले फिल्ममा गाउँको परिवेशभित्र रहेका चार युवकको विचित्र घटनाक्रमलाई अनौठो शैलीमा प्रस्तुत गरेको छ । ट्रेलरले दर्शकलाई अनौठो कथावस्तु र मनोरञ्जन दिने विश्वास गरिएको छ ।
करीब तीन मिनेट लामो ट्रेलरमा चार युवकको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न हुने परिस्थितिलाई हल्का डर र रमाइलो भावमा प्रस्तुत गरिएको छ । ‘आज साइकल, भोलि फरारी’ ट्यागलाइन दिएको यो फिल्मको निर्देशन नविन भट्टले गरेका हुन् । निर्माता तथा कलाकार मनोजकुमार अधिकारीले फरक धारको भएको बताए । हेर्नुस् ट्रेलर ।
फिल्ममा सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, मनोजकुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू र पुष्प अवस्थीले अभिनय गरेका छन् । जितु तामाङको छायाङ्कन, केशवराज भट्टको कोरियोग्राफी, प्रशान्त शिवाकोटीको संगीत र अनन्त घिमिरेको सम्पादन रहेको यस फिल्मलाई बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको हो । फिल्म माघ ४ गतेदेखि प्रदर्शनमा आउनेछ भने यसको डिजिटल अधिकार म्युजिक नेपालले खरिद गरेको छ ।














Discussion about this post