इटहरी/ ‘पूर्ण बहादुरको सारङ्गी’ जस्तो ऐतिहासिक सफल फिल्म निर्देशन गरेका सरोज पौडेलले नयाँ सोसल ड्रामा फिल्म ‘कोशेढुंगा’ निर्माणको औपचारिक घोषणा गरेका छन् । पौडेलले घुरमैलो वातावरणमा आधारित थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रारम्भिक लुक्स प्रस्तुत गरेका हुन् । पोस्टरमा पहाडलाई हेरिरहेकी एक महिलालाई केन्द्रमा राखिएको छ ।
माथि डाँडामा उभिएकी महिलाको अगाडि पहाडी शैलीको घर र अग्लो रुख देख्न सकिन्छ । परपर क्षितिजसम्म फैलिएको दृश्यले फिल्मले अभाव, संघर्ष र अग्ला सपना पूरा गर्ने कठिन यात्राको कथा भन्न खोजेको झल्काउँछ । निर्देशकले प्रस्तुत गरेको यो प्रतीकात्मक दृश्यले दर्शकलाई गहिरो सामाजिक कथानकको संकेत गरेको छ ।

निर्माणपक्षका अनुसार यो फिल्म २०८२ मा प्रदर्शन हुने लक्ष्य राखिएको छ । नरदेवी फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्ममा प्रेविल कँडेल र हरि महतले लगानी गर्नेछन् भने दिनेश खड्का कार्यकारी निर्माता रहनेछन् । फिल्मको छायाङ्कन बाबु श्रेष्ठले गर्नेछन् र सम्पादनको जिम्मा सुरेन्द्र पौडेलले लिनेछन् । संगीत पक्षमा रिदम कँडेल र आषिश अविरलले काम गर्नेछन् भने कास्टिङ डिरेक्टरमा सुवलमणि सापकोटा रहेका छन् ।
‘कोशेढुंगा’को मुख्य भूमिकामा रहने कलाकारको नाम खुलाइएको छैन । “कथा, कलाकार र फिल्मको सम्पूर्ण जानकारी केही समयपछि दिन्छौँ,” निर्देशक पौडेलले भने, “हाम्रो लक्ष्य दर्शकलाई ‘पूर्ण बहादुरको सारङ्गी’ जस्तै अर्को उत्कृष्ट सिनेमा दिनु हो ।” ‘पूर्ण बहादुरको सारङ्गी’ले करिब ५० करोडको बक्स अफिस कलेक्सन गर्दै नेपाली फिल्म उद्योगमा इतिहास रचिसकेको छ । सोही निर्देशकको अर्को परियोजना भएकाले ‘कोशेढुंगा’लाई पनि दर्शकले अत्यन्तै प्रतिक्षित फिल्मको रूपमा हेर्ने विश्वास गरिएको छ ।














Discussion about this post