इटहरी/ कोशी प्रदेश अवस्थित मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदान अहिले चहलपहलले भरिभराउ छ । यसको मुख्य कारण हो – नेपाली फिल्म ‘बलिदान’को छायाङ्कनका लागि निर्माण गरिएको ४२ फिट अग्लो देवी कालीको भव्य मूर्ति । यो अनौठो मूर्तिले केवल फिल्मको लागि मात्र नभई स्थानीय क्षेत्रको पहिचानलाई पनि नयाँ आयाम थपिदिएको छ ।
फिल्मका निर्देशक सन्तोष सेनका अनुसार, नेपालभर खोजी गर्दा पनि कथा अनुरूपको मूर्ति नपाएपछि भारतको कलकत्ताका कालिगडहरूको सल्लाह लिएर विराटनगरका कालिगढ बाबुराम महतोले यो मूर्ति बनाएका हुन् । “हामीलाई कथा अनुसारको विशिष्ट मूर्ति आवश्यक थियो । देशभर खोज्दा पनि उपयुक्त मूर्ति नभेटेपछि अन्ततः हामी आफैले ४२ फिट अग्लो मूर्ति तयार गर्यौँ,” सेनले बताए ।

मूर्ति निर्माणपछि बुढासुब्बा मैदान ‘काली चौर’को नामले चर्चित बन्न थालेको छ । यो स्थलले स्थानीयवासीका लागि रोजगारीको अवसर सिर्जना गरेको छ भने पर्यटकीय गन्तव्यको हिसाबले पनि यो ठाउँलाई काली माताको मूर्तिले महत्त्वपूर्ण बनाउनेछ । यस क्षेत्रमा निर्माण गरिएको मञ्च र २०० भन्दा बढी स्टलहरूले स्थानीयलाई रोजगारीका अवसर प्रदान गर्नुका साथै एउटा मिनी बजार समेत सञ्चालनमा ल्याएको निर्देशकले जनाए ।
उच्च प्रविधिको प्रयोग र दक्षिण भारतीय टोलीको सहकार्यले फिल्मलाई थप रोमाञ्चक बनाउने उद्देश्यले दक्षिण भारतीय एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको छ । यसअघि पनि यो मोरङ्गको कानेपोखरी जङ्गलको बीचमा १५ रात निरन्तर छायांकन गरेर फिल्मको थप चर्चा चुलिएको थियो । सो बेला पनि छायांकन स्थलमा बजार नै लागेको र धेरै स्थानीयहरू चिसोको पर्वाह नगरी रातभर नै सुटिङ हेरेर बसेका थिए ।

सो ठाउँमा राउटे बस्ती नै बनाईएको थियो । ‘बलिदान’ले नेपालको सार्वभौम भूमिमा भइरहेका अन्याय र समाजका प्रभावशाली नाइकेहरूविरुद्धको सङ्घर्षलाई कथा बनाएको छ । पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माता रहेको यो फिल्म ‘आसुसेन फिल्म्स प्रा.ली.’ को प्रस्तुतिमा निर्माण भइरहेको छ । फिल्ममा समीर भट्टको दमदार एक्सन समावेश गरिएको छ । उनको १२ गाउँ पछि छायांकनका हिसाबले “बलिदान” दोश्रो फिल्म हो भने रिलिजको हिसाबले पनि दोश्रो फिल्मको रुपमा बलिदान नै रहने छ ।
यस्तै अभिनेता सौगात मल्लको समेत यो फिल्ममा एक्सन अवतार देखिनेछ । उनको लुक्स यसअघिको फिल्महरुमा देखिए भन्दा बिल्कुलै फरक रहने निर्माण युनिटले जनाएको छ । यता निर्देशक सेन समेत फिल्मको एक प्रमुख पात्रको रुपमा बलिदानका देखिदैछन् । उनको भूमिका केन्द्रिय नै रहने बताईएको छ भने फरक लुक्स र एक्सनमा समेत उनी देखिँदै छन् । निर्देशक सेनले छायाङ्कन लगभग पूरा भइसकेको र टिजरसहित छिट्टै रिलिज मिति घोषणा गरिने जानकारी दिएका छन् । संभवतः यो फिल्म नयाँ वर्षको छेको पारेर सार्वजनीक गरिने चर्चा छ । यो चर्चाले कतिको सत्यता पाउला त्यो भने पर्खाइको विषय हो ।














Discussion about this post