इटहरी/ अभिनेता दयाहाङ राई अभिनीत फिल्म ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनीक भएसँगै ग्रामीण समाजको यथार्थ र सांस्कृतिक कथा उजागर भएको छ । सार्वजनीक ट्रेलर दयाहाङ राईलाई समाजले पानीबाट काढ्ने चेतावनी दिने दृश्यबाट सुरु हुन्छ । यसले मनभित्रको तीतो, अभाव र स्वाभिमानको लागि गरिएको संघर्षलाई बिस्तारै प्रस्तुत गर्दै लैजान्छ । झाँक्री विद्यामा समाजले गर्ने विश्वास, परम्परा, आर्थिक कारोबार र बहिष्कारजस्ता विषयले ट्रेलरलाई जीवन्त बनाएको छ ।
रिस र द्वेषले परिवारमा ल्याउने फाटो, अन्धविश्वासले निम्त्याउने विभाजन अनि समाजको निर्णयले व्यक्तिगत जीवनमा पर्ने प्रभावलाई ट्रेलरले गहिरो रूपमा समेटेको छ । पुस २६ गते प्रदर्शन हुने ‘कार्साङ’ यम शेर्पाको निर्देशनमा बनेको उनको पहिलो फिल्म हो । ग्रामीण परिवेशमा आधारित यो फिल्मले शेर्पा समुदायको सांस्कृतिक कथा र अभावको कथा बोल्नेछ । निर्देशक शेर्पाले फिल्मले सबै वर्ग र समुदायका दर्शकलाई छुने विश्वास व्यक्त गरेका छन् । हेर्नुस् ट्रेलर ।
दयाहाङ राई र सिर्जना निङलेखु प्रमुख भूमिकामा रहेको फिल्ममा जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितको समेत अभिनय रहेको छ । पुरुषोत्तम प्रधानले निर्माण र छायांकनको जिम्मा लिएका छन् भने गोविन्द बोहरा यो फिल्मका सह-निर्माता हुन् । यस्तै फिल्मको कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् । ट्रेलरमा प्रस्तुत गरिएको फिल्मको पारिवारिक कथावस्तुले दयाहाङ राईको दमदार अभिनय र ग्रामीण समाजको यथार्थलाई पर्दामा उत्कृष्ट रूपमा प्रस्तुत गरेको प्रष्टै बुझ्न सकिन्छ ।














Discussion about this post