इटहरी/ नेपाली फिल्म ‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ गते प्रदर्शनमा आउँदै छ । यो फिल्मको अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएका तीन नयाँ पोस्टरले फिल्मको गहिरो कथावस्तुलाई रमाइलो शैलीमा प्रस्तुत गरेको देख्न सकिन्छ । उक्त पोस्टरहरूले मृत्यु, लोभ र प्रतिशोधजस्ता गम्भीर विषयवस्तुलाई चित्रण गर्छन् ।
एक पोस्टरमा कफिनभित्रका कलाकारहरूले मृत्युपछिको जीवनबारे गम्भीर प्रश्न उठाएका छन् भने, अर्कोमा यार्सा र सुनको तुलनाले सम्पत्तिप्रतिको लोभलाई उजागर गरिएको छ । हड्डीको शङ्ख फुक्ने दृश्यले प्रतिशोधको भावलाई झल्काएको छ । फिल्मको यी पोस्टरहरू विजय बस्यालले डिजाइन गरेका हुन् । फिल्मको निर्देशन कुमार कट्टेल (जिग्री ब्रो) ले गरेका हुन् । यसमा ‘सक्किगोनी’ टिमका चर्चित कलाकारहरू अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिस निरौला (कक्रोज) र प्रियाना आचार्य (मुन्नी) को अभिनय रहेको छ ।

यस्तै अन्य कलाकारहरूमा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बु, बबिन राई (गल्फने बाजे), रामभजन कामत, र कमलमणि नेपाल (खुपीका बाउ)को समेत अभिनय रहेको छ । फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सृजना खड्का सह–निर्माताका रूपमा रहेका छन् । यो फिल्मको छायाङ्कन सुदीप बरालले गरेका छन् । सार्वजनीक पोष्टरहरुले फिल्मलाई प्रतिक्षित बनाएको बुझ्न सकिन्छ ।

















Discussion about this post