इटहरी/ प्रदर्शन मिति नजिकिएसँगै फिल्म ‘आ बाट आमा’ ले प्रचारप्रसारको शैलीलाई फराकिलो बनाएको छ । आगामी माघ १६ गते बाट हलमा लाग्ने यो फिल्मले दर्शकलाई सरप्राइज दिँदै आफ्नो हिट गीत ‘लैजा खबर ए हावा’ लाई नेवारी भाषामा सार्वजनिक गरेको छ । बिहिबार ओएसआर डिजिटलबाट रिलिज भएको यो गीतले फिल्मको सांगीतिक पक्षलाई अझ बलियो बनाएको विश्लेषण गरिएको छ ।
केही दिनअघि रवि ओडको स्वरमा सार्वजनिक भएको ओरिजिनल गीतले बजार तताइरहेको बेला, निर्माण टिमले यसलाई नेवारी समुदायमाझ पनि पुर्याउने उद्देश्यले नयाँ भर्सन ल्याएको हो । यसको सबैभन्दा बलियो पक्ष भनेको मदनकृष्ण श्रेष्ठ र यमन श्रेष्ठ को सहकार्य हो । बाबुल गिरीको संगीत रहेको यो गीतलाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेवारी भाषामा अनुवाद गरेका हुन् भने गायनमा यमन श्रेष्ठले न्याय गरेका छन् । हेर्नुस् भिडियो ।
यमनले आफ्नो मातृभाषामा गीत गाउन पाउँदा निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन् । निर्देशक चन्द्र पन्त फिल्मलाई केवल नेपाली भाषामा मात्र सीमित नराखी विविधतामय बनाउन चाहन्छन् । उनले भने, “हामीले नेपाली र नेवारी भाषामा रेकर्ड गरायौं, यो सुरुवात हो । दर्शकको माया पाए अन्य भाषामा पनि गीत ल्याउने योजना छ ।”
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो फिल्ममा पल शाह र विपना थापाको जोडी मुख्य आकर्षणमा छ । साथै, प्रदीप रावत, उषा उप्रेती, साइग्रेस पोखरेल, गजित बिष्ट लगायतको अभिनयले फिल्मलाई वजनदार बनाएको छ । नवराज उप्रेतीको छायाङकन रहेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेको हो ।
@parikalanewsofficial
फिल्मको ट्रेलर तथा टिजर साहिल खानले तयार गरेका हुन् । करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन् भने फिल्मको निर्मातामा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना रहेका छन् । अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् । आरआर फिल्म्सले वितरण गर्ने यो फिल्म अहिले देशव्यापी प्रचारमा आक्रामक रुपमा लागिपरेको छ ।
















Discussion about this post