इटहरी/ नेपाली फिल्म क्षेत्रमा आफ्नो सशक्त अभिनयमार्फत अलग पहिचान बनाएका अभिनेता प्रमोद अग्रहरी अब अन्तर्राष्ट्रिय पर्दामा छाउने भएका छन् । उनको बहुप्रतिक्षित बंगलादेशी डेब्यु फिल्म ‘शार्क’ (हाङ्गोर) को दमदार टिजर सार्वजनिक भएसँगै उनको चर्चा चुलिएको छ । सार्वजनिक एक मिनेट लामो टिजरमा प्रमोदलाई निकै शक्तिशाली भूमिकामा प्रस्तुत गरिएको छ ।
समुन्द्रको बीचमा गुण्डाहरूसँग भिडिरहेको उनको खतरनाक एक्सन अवतारले दर्शकको ध्यान खिचेको छ । टिजरमा शार्क माछालाई बिम्बका रूपमा देखाइएको छ । रोचक कुरा त के छ भने, टिजरसँगै सार्वजनिक गरिएको फिल्मको पोस्टरमा कलाकारहरूको सूचीमा प्रमोदको नाम पहिलो नम्बरमा राखिएको छ, जसले फिल्ममा उनको भूमिका कति केन्द्रीय छ भन्ने प्रष्ट पार्छ । हेर्नुस् टिजर ।
https://www.facebook.com/share/v/1bhVed8QWS/
बंगाली भाषामा ‘हाङ्गोर’ नाम दिइएको यो फिल्मको अन्तर्राष्ट्रिय नाम भने ‘शार्क’ रहेको छ । नेपाली फिल्ममा सकारात्मक र नकारात्मक दुवै चरित्रमा खरो उत्रिने प्रमोदको पछिल्लो समयको एक्सन भूमिकाले नै उनलाई यो अन्तर्राष्ट्रिय प्रोजेक्टसम्म पुर्याएको हो । ‘पिताम्बर’, ‘रावायण’ र ‘अगस्त्य च्याप्टर १’ जस्ता फिल्ममा प्रमोदको काम हेरेर बंगलादेशी निर्देशक ट्यानमोइ सुोर्जो प्रभावित भएका थिए र उनलाई अफर गरेका थिए ।
गाजी हिमोको निर्माण रहेको यस फिल्मको छायांकन गत अक्टोबरमा बंगलादेशको ढाकामा सम्पन्न भएको थियो । प्रमोदले त्यहाँ काम गर्दा मेकर, प्राविधिक र स्थानीयबाट पाएको माया र हौसला आफ्नो लागि अमूल्य रहेको बताएका छन् ।
@parikalanewsofficial
छायांकनकै क्रममा अन्य बंगाली फिल्मको अफर आए पनि उनले ‘शार्क’को प्रदर्शनपछि मात्र नयाँ कामबारे सोच्ने बताएका छन् । उनले आगामी दिनमा नेपाली र बंगाली दुवै उद्योगमा काम गर्ने योजना बनाएका छन् । सन् २०२६ को इदमा रिलिज हुने तयारीमा रहेको यो फिल्मको टिजर आएपछि नेपाली फ्यानहरूले नेपालमा पनि प्रदर्शनको माग गरेका छन् । जवाफमा प्रमोदले आफ्ना प्रिय दर्शकलाई निराश नबनाउने र नेपालमा पनि फिल्म प्रदर्शन हुने आश्वासन दिएका छन् ।















Discussion about this post