इटहरी/ नेपाली फिल्म उद्योगकी प्रथम नायिका भुवन चन्दलाई पतिशोक परेको छ । उनका श्रीमान् तथा रेडियो नेपालका चर्चित पूर्व अङ्ग्रेजी समाचार वाचक माइकल चन्द नामले लोकप्रिय हरिश चन्दको ७७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले दिएको जानकारी अनुसार चन्दको आज शुक्रबार बिहान आफ्नै निवासमा निधन भएको हो ।
उनी लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित थिए । स्वर्गीय माइकल चन्दको वास्तविक नाम हरिश चन्द भए पनि सञ्चार र कला क्षेत्रमा उनी ‘माइकल चन्द’ नामले परिचित थिए । उनले लामो समय रेडियो नेपालमा अङ्ग्रेजी समाचार वाचकको रूपमा सेवा गरेका थिए । सुमधुर स्वर र स्पष्ट उच्चारणका कारण उनी श्रोतामाझ निकै लोकप्रिय थिए । साथै, उनले जर्मन सांस्कृतिक केन्द्र (गोथे इन्स्टिच्युट) मा पनि लामो समय काम गरेका थिए ।
@parikalanewsofficial
नेपाली फिल्मको इतिहासमा प्रथम नायिकाको रूपमा भुवन चन्दलाई स्थापित गराउन र उनको कला यात्रालाई निरन्तरता दिन माइकल चन्दको ठूलो योगदान र साथ रहेको चलचित्रकर्मीहरू स्मरण गर्छन् । उनी कला क्षेत्रका एक असल अभिभावक र सहयोगी व्यक्तित्व समेत थिए । भुवन चन्द र माइकल चन्दका तीन छोरीहरू छन्, जो हाल अमेरिकामा बसोबास गर्दै आएका छन् ।
पारिवारिक स्रोतका अनुसार छोरीहरू नेपाल आउँदै गरेकाले उनको पार्थिव शरीरको अन्त्येष्टि आईतबार पशुपति आर्यघाटमा गरिने तयारी छ । स्वर्गीय चन्दको निधनप्रति नेपाल चलचित्र कलाकार सङ्घ लगायत विभिन्न चलचित्रकर्मी, सञ्चारकर्मी र शुभचिन्तकहरूले सामाजिक सञ्जाल मार्फत गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिरहेका छन् ।















Discussion about this post