इटहरी/ फिल्मका प्रमुख अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुलाई फिचर्ड गर्दै छायांकन अगाबै ‘सोल्टिनी’को पहिलो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता सपूत र अभिनेत्री लिम्बु प्रेम र वियोगका भावमा देखिएका छन् । सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’ को भूमिका निर्वाह गर्दैछन् । पहिलो पटक पर्दामा सँगै देखिन लागेको यो जोडीले दर्शकलाई नयाँ अनुभव दिने आशा गरिएको छ ।
भोजपुरको प्राकृतिक सौन्दर्यतामा छायाङ्कन हुने ‘सोल्टिनी’ जातीय भेदभाव र समाजमा रहेको अमानवीयताविरुद्ध आवाज उठाउने कथामा केन्द्रित छ । निर्देशक अर्जुन सुवेदीका अनुसार मुख्य पात्रहरू बीचको प्रेमकथाले फिल्मलाई थप रोचक बनाउनेछ । फिल्ममा प्रकाश सपूत र परीक्षा लिम्बुका अलावा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, र सुजन खतिवडा लगायतको समेत अभिनय रहनेछ । सोल्टिनीको छायाङ्कन सुशन प्रजापतिले गर्नेछन् भने संगीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले तयार गर्नेछन् ।

अर्जुन सुवेदी र कुमार भट्टराई यो फिल्मका लेखक हुन् । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने फिल्मका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । यो फिल्मको नेपाल वितरण आरआर फिल्मस् प्रा.लि. र विदेशी वितरण नेपसिनेले गर्नेछन् । डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ । २०७८ साल पुसको अन्त्यतिर छायाङ्कन सुरु हुने यो फिल्मलाई २०८२ साल असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको छ ।












Discussion about this post