इटहरी/ यही बिहीबार बेलुकी काठमाण्डौको एक फिल्म हलको माहोल निकै भावुक थियो । पर्दामा नयाँ नेपाली फिल्म ‘लालीबजार’ चलिरहँदा दर्शकदीर्घामा रहेका बादी समुदायका अभियन्तादेखि देशका दिग्गज कलाकार र राजनीतिज्ञसम्मका आँखा रसाएका थिए । एउटी आमाले छोरीका लागि गरेको सङ्घर्ष र सामाजिक विभेदविरुद्धको कलात्मक विद्रोहलाई पर्दामा उतारेको यस फिल्मले प्रिमियर सोबाटै ‘मास्टरपिस’को ट्याग पाएको छ ।
आज वैशाख २५ गतेबाट प्रदर्शनमा आएको फिल्मको सुरुवाती चरणमा फिल्मको विषयवस्तुलाई लिएर उठेका आशङ्का र विवादलाई प्रिमियरले पूर्ण रूपमा चिरेको छ । फिल्म हेरेर निस्किँदै गर्दा बादी समुदायकी अभियन्ता देवीसरा बादीका आँखा ओभाना थिएनन् । ‘यो फिल्म मेरो पनि कथा हो,’ उनले भावुक हुँदै भनिन्, “मेरी आमाले मलाई पढाउन गर्नुभएको सङ्घर्ष मैले पर्दामा देखेँ । यसले कुनै समुदायको भावनामा ठेस पुर्याएको छैन, बरु यो हरेक आमा-छोरी र महिलाले गर्व गर्न लायक फिल्म बनेको छ ।”

अन्य उपस्थित अभियन्ताहरूले पनि फिल्मले यथार्थलाई न्याय गरेको बताए । यता नेपाली कला क्षेत्रका सर्वोच्च हस्ती ‘मह जोडी’ले फिल्मको खुलेर प्रशंसा गरेका छन् । दिग्गज कलाकार मदनकृष्ण श्रेष्ठले यसलाई ‘पर्फेक्ट फिल्म’ भन्दै, ‘यो फिल्म सबै पक्षमा अब्बल छ । आमा-छोरीको सम्बन्धलाई यति राम्रोसँग प्रस्तुत गरिएको छ कि, यो फिल्मले १० मा १० नम्बर नै डिजर्भ गर्छ ।’ भने ।
त्यस्तै, अर्का लिजेन्ड हरिवंश आचार्यले शब्दमा तारिफ गर्न गाह्रो भएको बताउँदै भने, ‘फिल्म एकदमै राम्रो छ । मैले हेरेका मध्ये उत्कृष्ट फिल्मको सूचीमा ‘लालीबजार’ पर्छ ।’ फिल्म हेर्न पुगेकी पूर्वमन्त्री सुमना श्रेष्ठले निर्माण कम्पनी षट्कोण आर्ट्सको विषयवस्तु छनोटमा परिपक्वता आएको बताइन् । उनले फिल्मले सामाजिक विभेदविरुद्ध बलियो सन्देश दिएको उल्लेख गरिन् ।
@parikalanewsofficial
त्यसैगरी, नेता रवीन्द्र मिश्रले क्रूर सामाजिक विभेदलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको भन्दै भने, ‘यसलाई किन विवादमा ल्याइयो, मैले बुझिनँ । यो फिल्मले दर्शकको समय र पैसाको पूर्ण सदुपयोग गर्छ र हलबाट निस्किँदा केही न केही सन्देश दिएरै पठाउँछ ।’ चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले त फिल्म हलमा ‘बबाल’ चल्ने भविष्यवाणी नै गरिदिए ।
प्रिमियरमा सबैभन्दा धेरै चर्चा अभिनेत्री स्वस्तिमा खड्काको अभिनयको भयो । फिल्मकर्मीहरूका अनुसार स्वस्तिमाले आफ्नो अभिनयको उचाइ अझै बढाएकी छन् । उनको जीवन्त अभिनयले नै धेरै दर्शकको आँखा रसाएको थियो । निर्देशक निश्चल बस्नेतले पनि फिल्मले आफ्नो अपेक्षाभन्दा धेरै गुणा राम्रो काम गरेको र सन्देश अत्यन्तै शक्तिशाली रहेको बताए ।
प्रिमियरमा पाएको यो उत्साहजनक प्रतिक्रियाले निर्देशक तथा लेखक यम थापा निकै हौसिएका छन् । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल लगायत कलाकारको प्रमुख भूमिकामा अभिनय रहेको छ भने विशाल देवकोटा र प्रशंसा सुवेदीले यही फिल्मबाट डेब्यु गर्दैछन् । लेखन तथा निर्देशन यम थापाको रहेको फिल्ममा पटकथा तथा संवादमा प्रदीप भट्टराईको रहेको छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्ममा म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता र कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् ।


















Discussion about this post