इटहरी/ नेपाली फिल्म क्षेत्रमा एउटा ठूलो र महत्वाकांक्षी प्रोजेक्टको लामो प्रतिक्षा र आरोहअवरोहपछि औपचारिक सुरुवात भएको छ । करिब ८० जना कलाकारहरूको विशाल टोली र स्टारहरूको बलियो लाइनअप लिएर सोसल पिरियड ड्रामा ‘महाराजधिराज’ निर्माणको मैदानमा उत्रिएको छ । मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा पञ्चेबाजा र शङ्ख ध्वनिका बीच यस फिल्मको भव्य शुभमुहूर्त गरिएको छ ।
बिहान ८ बजेदेखि ११:११ बजेसम्म चलेको पूजामा फिल्मका मुख्य कलाकारहरू आर्यन सिक्देल, पुष्प खड्का, पूजा शर्मा, उषा रजकलगायत निर्माण टोलीको उपस्थिति रहेको थियो । शुभमुहूर्त लगत्तै निर्माण टोली छायांकनका लागि तयार भएको छ । यो ठूलो क्यानभासको फिल्मको पहिलो सट यही २५ गते सुनसरीको प्रसिद्ध श्रीलंका टापुबाट लिइनेछ । सुनसरीमा एक हप्ताको छायांकन सकेपछि टोली काठमाण्डौ फर्किनेछ ।

त्यसपछि बाँकी ७० दिन काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा सुटिङ गरिनेछ । नवराज थापाको क्यामेराले यी सम्पूर्ण दृश्यहरू कैद गर्नेछ । निर्देशक परिच्छेद सेनको आफ्नै लेखन र निर्देशन रहेको यो फिल्मलाई उनको ‘ड्रिम प्रोजेक्ट’ मानिएको छ । लामो समय स्क्रिप्टमा मेहनत गरेका सेनले यसलाई उत्कृष्ट सोसल पिरियड ड्रामा बनाउने अठोट लिएका छन् । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको यो फिल्मलाई आगामी दसैँको फूलपातीमा दर्शकमाझ ल्याउने निर्माण टिमको तयारी छ ।

@parikalanewsofficial
‘महाराजधिराज’मा कलाकारहरूको यति लामो सूची छ कि, यसले दर्शकमा झनै कौतुहलता जगाएको छ । आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी र उषा रजक जस्ता शीर्ष कलाकारहरू एकसाथ पर्दामा देखिँदैछन् ।
त्यसैगरी, नीर शाह, गजित बिष्ट, जयकिशन बस्नेत, दिनेश डि.सी., मोहन निरौला, सुशील सिटौला, विशाल पहाडी, हिउवाला गौतम, प्रिया रिजाल, आशा पौडेललगायतका दिग्गज र चर्चित अनुहारहरूले फिल्मलाई झनै बलियो बनाएका छन् ।

साथमा शिशिर भण्डारी, कमल गाउले, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, सुजेन थापा, आयुष्मा गिरीलगायत अन्य दर्जनौं कलाकारहरूको पनि यसमा अभिनय रहनेछ । प्रस्तुतकर्ता विराज विष्टले कलाकारहरूको यस्तो बलियो उपस्थिति अनुसार नै फिल्म पनि उत्कृष्ट र स्तरीय बन्ने दाबी गरेका छन् । ‘महाराजधिराज’का निर्माताहरूमा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन् ।


















Discussion about this post