इटहरी/ नेपाली बक्स अफिसमा एक्सन फिल्मको परिभाषा बदल्न सफल ‘१२ गाउँ’ को सफलताको ह्याङ्गओभर अझै दर्शकको मनबाट उत्रिसकेको छैन । दर्शकको त्यही उत्साह र मागलाई सम्बोधन गर्दै, एक्सन स्टार तथा निर्देशक विराज भट्टले आफ्नो बहुप्रतिक्षित फिल्म ‘१२ गाउँ २’को छायांकन औपचारिक रूपमा सुरु गरेका छन् । बुधबार एउटा भव्य गीतको छायांकनसँगै क्यामेरा ‘रोल’ गरिएको यस फिल्मले आगामी दसैँको फूलपातीलाई आफ्नो आधिकारिक प्रदर्शन मितिका रूपमा ‘लक’ गरिसकेको छ ।
चाडपर्वको माहोलमा दर्शकलाई पूर्ण मनोरञ्जन दिने उद्देश्य निर्माण पक्षको छ । काठमाडौंको सहरी परिवेशदेखि सिन्धुपाल्चोक र चितवनका मनमोहक दृश्यहरूसम्म पुगेर खिचिने यस फिल्ममा नेपाली फिल्मका चल्तीका अनुहारहरूको बाक्लो उपस्थिति रहनेछ । दर्शकले फेरि एकपटक विराज भट्ट र समिर भट्टबाट पर्दामा आगो ओकल्ने कडा एक्सनको अपेक्षा गर्न सक्छन् । यो फिल्ममा विराज र समिरका अलावा अनुप विक्रम शाही, कृशु ‘काफिया’ शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह र सुनिल पोखरेलको प्रमुख भूमिकामा अभिनय रहने छ ।

यस्तै कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्व फिल्मको महत्त्वपूर्ण भूमिकामा रहनेछन् । सिक्वेललाई पहिलो भागभन्दा अझ भव्य र स्तरीय बनाउन प्राविधिक पाटोमा कुनै सम्झौता नगरिएको निर्माण टोलीले जनाएको छ । फिल्मको कथा तथा पटकथा सन्तोष सरकारले तयार पारेका हुन् भने यसको छायांकन महेश पौडेलले गर्दैछन् । फिल्ममा एक्सन तथा द्वन्द्व निर्देशन इस्टनर सिल्वा र शंकर महर्जनको रहनेछ भने नृत्य निर्देशन सियोन श्रेष्ठ, संगीत संयोजन युग भुसाल, देवेन्द्र बराल र डीपी खनालको रहनेछ ।

@parikalanewsofficial
फिल्मका गीतहरूमा सुगम पोखरेल, समीक्षा अधिकारी, प्रेरणा सिंह, किरण भुजेल र निशान भट्टराईको स्वर सुन्न सकिनेछ भने पार्श्व संगीत कालाचरण र गीता गुरप्पाको रहनेछ । भरपुर एक्सन र थ्रिलले भरिएको यो फिल्मलाई दर्शकमाझ पुर्याउने जिम्मा दुई ठूला वितरक कम्पनीले लिएका छन् । काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स प्रालिले वितरण गर्नेछ भने काठमाण्डौ बाहिरका हलहरूमा कुबेर फिल्म्सले वितरणको जिम्मा लिएको छ । अघिल्लो भागले खडा गरेको बक्स अफिस रेकर्ड तोड्ने लक्ष्य बोकेको ‘१२ गाउँ २’ ले फूलपातीको बिदामा दर्शकलाई एक्सनको उत्कृष्ट खुराक दिने पक्कापक्की छ ।


















Discussion about this post