इटहरी/ चकलेटी हिरो तथा ‘लभर ब्वाइ’ को छवि बनाएका अभिनेता सलिनमान बनियाँ लामो समयको मौनता तोड्दै दमदार एक्सन अवतारमा फर्किएका छन् । फिल्म ‘यात्रा’ पछि पर्दामा नदेखिएका सलिनले आफ्नो जन्मदिनको अवसर पारेर दर्शकलाई ‘सरप्राइज’ दिँदै नयाँ फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर सार्वजनिक गरेका हुन् । सान्भी इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस फिल्मको १ मिनेट १२ सेकेन्ड लामो टिजर ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।
सार्वजनिक टिजरमा सलिनमानको पूर्णतया फरक र आक्रामक एक्सन देख्न सकिन्छ । दर्शकले यसअघि देखेका सलिनभन्दा यो रूप विल्कुलै नयाँ छ । उनीसँगै अभिनेता सलोन बस्नेत पनि उस्तै एक्सन शैलीमा प्रस्तुत भएका छन् । सलोनले पनि आफ्नो विगतका भूमिकाहरूभन्दा आफूलाई पूर्ण रूपमा फरक ढाँचामा पेस गरेका छन् । टिजरमा सलिन र सलोन मिल्ने साथीको रूपमा देखिएका छन्, जो आफ्नो ग्याङको कुनै सफलता वा लक्ष्य प्राप्तिका लागि भीषण लडाइँ गरिरहेका छन् । हेर्नुस् भिडियो ।

सलिनमान बनियाँ स्वयम्को कथा रहेको यस फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गरेका हुन् । मन्दिप गौतमको पटकथा रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन् । एक्सन जनरामा निर्माण भएको फिल्मको प्राविधिक पक्ष पनि निकै उत्कृष्ट देखिन्छ । फिल्मको सम्पादन तथा ट्रेलर बन्दे प्रसादले, भिएफएक्स मनोज श्रेष्ठले, ब्याकग्राउन्ड स्कोर रोमन बज्राचार्यले, साउन्ड डिजाइन मुकेश शाहले, कलर राजेन्द्र मोक्तानले, मेकअप मनोज लामाले गरेका हुन् भने प्रोडक्सन म्यानेजरको रूपमा सुवास काफ्ले र सह-म्यानेजरको रूपमा केवलमान सिंह बस्नेत रहेका छन् ।
@parikalanewsofficial
हाल फिल्मका मुख्य अभिनेता सलिन र सलोनबाहेक अन्य कलाकारहरूको नाम गोप्य राखिएको छ । साथै, फिल्मको प्रदर्शन मिति पनि निर्माण पक्षले घोषणा गरेको छैन । टिजरमार्फत दर्शकको प्रतिक्रिया बुझेर मात्रै फिल्मको प्रदर्शन मिति र अन्य विवरण सार्वजनिक गर्ने रणनीति निर्माण टिमले अपनाएको बुझ्न सकिन्छ । समग्रमा, लामो समय रिजर्भ बसेका सलिनमानको यो कमब्याकले नेपाली फिल्म क्षेत्रमा एउटा नयाँ र फरक एक्सनको स्वाद पस्कने संकेत दिएको छ । फिल्मको विस्तृत कथा र थप रहस्यहरू भने आगामी ट्रेलरबाटै खुल्ने अपेक्षा गरिएको छ ।


















Discussion about this post