इटहरी/ हास्य कलाकारका रूपमा परिचित जितु नेपालले आफ्नो अभिनय क्षमतालाई फेरि एकपटक प्रमाणित गरेका छन् । दयाहाङ राईसँगको जोडीमा बनेको फिल्म ‘कार्साङ’मा उनले अहिलेसम्मका आफुले गरेका भूमिकाहरुभन्दा निकै फरक चरित्र निभाएका छन् । ‘कार्साङ’मा जितु दयाहाङका घनिष्ठ साथीको भूमिकामा देखिएका छन् । यद्यपि, उनको चरित्र दलित समुदायको प्रतिनिधित्व गर्दछ र यसले फिल्ममा थप गहिराइ प्रदान गरेको छ ।
फिल्मको टिजरले जितु बच्चा नभएको पीडा बोकेको र यसले दया र जितुको मित्रतालाई कसरी प्रभाव पार्छ भन्ने रहस्यलाई उजागर गरेको छ । जितुले यस फिल्ममा हास्य र गम्भीरताको सन्तुलन मिलाएका छन् । उनका अनुसार, ‘कार्साङ’मा जितुको भूमिका दर्शकलाई हँसाउने मात्र नभई गम्भीर विषयलाई पनि उठान गर्ने खालको छ ।
यसअघि ‘ह्यारी कि प्यारी’ र ‘ज्वाइँ साब’ जस्ता फिल्ममा मुख्य भूमिका निभाएका जितु फेरि एकपटक सहायक भूमिकामा फर्किएका छन् । तर, ‘कार्साङ’मा उनको भूमिकाले दर्शकलाई निश्चित रूपमा ध्यान केन्द्रित भने गर्नेछ । यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको ‘कार्साङ’ शेर्पा समुदायको संस्कृति र जीवनशैलीमा आधारित छ ।
पौष २६ देखी प्रदर्शनमा आउने यस फिल्ममा दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्मको पुरुषोत्तम प्रधान छायांकार र निर्माता स्वयंम हुन् । फिल्मको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही रहेका छन् ।












Discussion about this post