इटहरी/ डिजिटल अडिसनमार्फत हजारौं प्रतिस्पर्धीको सहभागिता रहेको रियालिटी शो ‘एक्टिङ स्टार’ले निर्णायक मण्डलको टुंगो लगाएको छ । शोको निर्णायक टिममा अभिनयका खम्बा निर शाह, थुप्रै कलाकारलाई प्रशिक्षण दिएका अनुप बराल र चर्चित अभिनेत्री ऋचा शर्मा रहेका छन् । कार्यक्रम निर्माण संस्थाले यो जानकारी सार्वजनिक गर्दै निर्णायक टिमलाई अभिनय क्षेत्रमा अनुभवी र योग्य व्यक्तित्वको रूपमा प्रस्तुत गरेको छ ।
शोका लागि केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । हालसम्म कलाकार बन्न चाहने हजारभन्दा बढीले आफ्नो अभिनय क्षमता देखाउदै भिडियो पठाइसकेका छन् । कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले डिजिटल अडिसनबाट छनोटमा परेकाहरुलाई उनीहरूकै स्थानमा पुगेर सहभागिताको प्रमाणपत्र प्रदान गर्ने जनाएको छ ।

‘एक्टिङ स्टार’मा बालकलाकार, युवा र वृद्धहरूसमेतको रुचि रहेको देखिएको छ । अभिनय कला उजागर गर्ने उद्देश्यले तयार गरिएको यो शोको निर्देशन विशाल भण्डारीले गर्नेछन् भने कार्यक्रम एपिवान टिभीमार्फत प्रशारण हुनेछ । हाल गायन, नृत्य र कमेडीका रियालिटी शोहरूलाई दर्शकले रुचाइरहेका बेला अभिनयमा केन्द्रित यो शोले नयाँपन दिन सक्ने अपेक्षा गरिएको छ । ‘एक्टिङ स्टार’को डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ । साथै, विजेताले नगद पुरस्कारसहित फिचर फिल्ममा काम गर्ने अवसर पाउनेछन् ।














Discussion about this post