इटहरी/ अभिनेत्री निता ढुंगाना निर्मात्री रहेको फिल्म ‘ह्रस्व दीर्घ’ले नेपालमा प्रदर्शनको एक महिना नपुग्दै अन्तर्राष्ट्रिय बजारमा ठुलो सफलता हासिल गरेको छ । भारतीय मिडिया कम्पनी जी-नेटवर्कले यो फिल्मको टिभी राइट्स खरिद गरेको छ । बुधबार मुम्बईस्थित जी-नेटवर्कको मुख्यालयमा फिल्मकी निर्मात्री तथा अभिनेत्री निता ढुंगाना र अभिनेता हरिहर अधिकारीले दुईवटा राइट्स सम्झौता गरेका हुन् ।
फिल्मको राइट्स खरिद भएको कुरा निता र हरिहरले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । दक्षिण भारतिय भाषा र नेपाली भाषा बाहेकका अन्य भाषाहरुको ओटिटी राईट्स जि नेटवर्कलाई दिएको निर्मात्री ढुंगानाले जानकारी गराईन् । जापानमा प्रदर्शन पूरा गरेपछि भारत पुगेका उनीहरूले सम्झौताका लागि बलिउडका ख्यातिप्राप्त छायाकार कवीरलालको साथमा जी-नेटवर्कका अधिकारीसँग भेट गरेका थिए ।

जी-नेटवर्कले कति मूल्यमा फिल्मको राइट्स खरिद गरेको हो भन्ने जानकारी बाहिर आएको छैन । विश्वभर ४५ भन्दा बढी टिभी च्यानल सञ्चालन गर्दै आएको यो कम्पनीको ओटीटी प्लाटफर्म ‘जी फाइभ’ हो ।
‘ह्रस्व दीर्घ’ जी-नेटवर्क अन्तर्गतका टेलिभिजन र ‘जी फाइभ’ ओटीटीमा रिलिज हुने पहिलो नेपाली फिल्म बन्नेछ । यसले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउने विश्वास गरिएको छ । फिल्ममा बिपना थापा, निता ढुंगाना र हरिहर अधिकारीसँगै गरिमा शर्मा, दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, अली, सुनिल बर्मा, प्रदीप रावत र कबीर दुहन सिंह लगायतको अभिनय रहेको छ । यो सम्झौताले नेपाली फिल्म उद्योगका लागि नयाँ आयाम स्थापित गरेको छ ।














Discussion about this post