इटहरी/ फिल्म प्रदर्शनको मिति नजिकिँदै जाँदा ‘बम बहादुर’ फिल्म निर्माण युनिटले यसको दार्जिलिङमा प्रिमियर सम्पन्न गरेको छ । यो फिल्म नेपाल र भारतमा एकसाथ पौष ५ गतेदेखी प्रदर्शनमा आउँदै छ । सञ्जीव सार्कीको निर्माण र जोन राईको निर्देशनमा बनेको फिल्म ‘बम बहादुर’ले दार्जिलिङका दर्शकको मन जित्दै ऐतिहासिक आन्दोलनको कथा पर्दामा प्रस्तुत गरेको छ । ओख्ली ढिकी प्रोडक्सनद्वारा आयोजित प्रिमियर शो गोर्खा रंगमञ्च भवनमा सम्पन्न भएको थियो ।
सो कार्यक्रममा फिल्म निर्माणमा गरिएको परिश्रम र समर्पणको कदर गर्दै कलाकार तथा निर्माण टोलीलाई सम्मान गरिएको थियो । यो फिल्मका प्रमुख अभिनेता सौगात मल्ल अन्य प्रोजेक्टमा व्यस्त भएकाले कार्यक्रममा उपस्थित हुन नसके पनि अन्य कलाकारहरू अनिशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिस्ट कार्की, प्रभात पाख्रिन र बादल क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

‘बम बहादुर’ले १९८६ को गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा आधारित नेपाली समुदायको संघर्ष र जीवनका आरोह-अवरोहलाई सजीव रूपमा उतारेको छ । विशेष गरी, दार्जिलिङ र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको पीडा र ऐतिहासिक महत्त्व बोकेको यो फिल्मले ट्रेलरबाटै पनि दर्शकको मन जित्न सफल भएको छ । केहि दिनअघि यो फिल्मको ट्रेलर युट्युबमा सार्वजनिक भैसकेको छ ।

ट्रेलर हेर्ने दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । दर्शकका अनुसार फिल्मको कथा मात्र नभई संवादहरू पनि जीवन्त, मार्मिक र सन्देशमूलक छन् । फिल्मका मुख्य पात्र बम बहादुरको संघर्षले सम्पूर्ण कथालाई प्रभावकारी बनाएको प्रतिक्रिया आईरहेको छ । बिष्ट ब्रोदर्स फिल्मस्को ब्यानरमा ‘बम बहादुर’को कथालाई निर्देशक जोन राई र रुपेश तामाङले संयुक्त रुपमा लेखेका हुन् ।

















Discussion about this post