इटहरी/ नेपाली समाजमा गहिरो रुपमा विद्यमान जातीय भेदभाव र अमानवताको विषयलाई पर्दामा उतार्ने उद्देश्यसहित निर्देशक अर्जुन सुवेदीले नयाँ फिल्म ‘सोल्टिनी’को घोषणा गरेका छन् । सोमबार सार्वजनिक गरिएको परिचयात्मक भिडियोले फिल्मका प्रमुख पात्र, कथा र फिल्मको उद्देश्यलाई प्रस्ट्याउँदै समाजमा परिवर्तनको सन्देश प्रवाह गर्ने संकेत गरेको छ ।
फिल्मको घोषणा भिडियोमा चर्चित कथा वाचक साइग्रेस पोखरेलको प्रभावशाली वाचनले फिल्मको भाव व्यक्त गरेको छ । सार्वजनिक मोसन भिडियोमा उनले भनेका छन्, ‘मानिसबाट मानिसलाई हुने छि छि दुरदुर, अमानवता र जातीय भेदभाव मेटाउन कसैले त कलम अगाडि बढाउनै पर्छ, कि त पैताला जलाउनै पर्छ।’ यी शब्दहरूले फिल्मको गहिरो सामाजिक सन्देशलाई झल्काउँछ । हेर्नुस् भिडियो ।
प्रकाश सपुत र परीक्षा लिम्बु मुख्य भूमिकामा रहेको यस फिल्ममा सपुतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’ को भूमिका निर्वाह गर्नेछन् । सपुतले भावुक संवादमार्फत भनेका छन्, ‘सोल्टिनी आयौ, अन्तिम पटक भेट्ने मौका दियौ । तिम्रो अनुहार हेर्न नपाई डोली चढ्छौ जस्तो लागेको थियो ।’ लिम्बुको संवादले अपुरो प्रेमको कथा झल्काउँछ, ‘सोल्टी, म तपाईँलाई एकदमै माया गर्छु, यति धेरै की तपाईँले सोच्न पनि सक्नुहुन्न । तर हामी एक हुन सक्दैनौँ ।’

भोजपुरको एक गाउँमा आधारित कथामा रहेर निर्माण हुन लागेको फिल्मको थिम गीतले पनि दर्शकलाई भावनात्मक रूपमा जोड्ने तयारी गरेको छ । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्ने यो फिल्मको पुस १५ बाट छायाङ्कन सुरु हुनेछ । कलाकार र प्राविधिक टोली अहिले वर्कसपमा व्यस्त छन् । फिल्मलाई २०८२ साल असोज ३ गते संविधान दिवसको दिन प्रदर्शन गर्ने लक्ष्य निर्माण युनिटले राखेको छ ।














Discussion about this post