इटहरी/ फिल्म निर्माण घोषणादेखी नै प्रतिक्षित मानिएको फिल्म ‘दुखी आत्मा’ले कवितालाई सिनेमाको माध्यममा प्रस्तुत गर्दै नयाँ प्रयोग गर्ने भएको छ । यसका लागि चर्चित कवि श्रवण मुकारुङले यो फिल्मका लागी १० वटा विशेष कविता तयार पारेका छन्, जुन फिल्मको कथावस्तु र पात्रको मनोविज्ञानसँग गहिरो सम्बन्ध राख्ने बताईएको छ ।
यो फिल्मका निर्देशक दीपेन्द्र लामा भन्छन्, ‘कतिपय भाव र सोचाइलाई संवाद वा दृश्यमार्फत् प्रस्तुत गर्न कठिन हुने हुँदा कविताको सहारा लिइएको हो । कवि मुकारुङका सिर्जनाले फिल्मको कलात्मक उचाइ बढाउनुका साथै कथालाई थप प्रभावकारी बनाएको छ।’
‘चलचित्रका फराकिला दर्शक माझ कविता पुर्याउनु कुनै पनि स्रष्टाका लागि उत्साहजनक हो’, मुकारुङले आफ्नो अनुभव बाँड्दै भने । प्रसिद्ध गीत ‘माथि माथि शैलुङुगेमा’, ‘तिमी तारेभीर’, ‘राई माइलाले गाउँ छाड्यो रे’ जस्ता रचनाका स्रष्टा मुकारुङले फिल्ममा कविका रुपमा काम गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।
क्लक वर्क क्रिएसनको ब्यानरमा निर्माण भएको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ र रेयर राईलगायतका कलाकार मुख्य भूमिकामा देखिँदैछन् । आलोक शुक्लाले खिचेको फिल्म भ्यालेन्टाइन्स डेको अवसर पारेर फागुन २ गतेदेखि प्रदर्शनमा आउने छ । फिल्मका हिमाल कडरिया निर्माता हुन् भने सुदिप ढकाल कार्यकारी निर्माता रहेका छन् । हाल सम्पादन प्रक्रियामा रहेको यस फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।















Discussion about this post