इटहरी/ आउँदो पौष महिनाको ५ गतेदेखी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बम बहादुर’को प्रचारप्रसार तिब्र भैरहेको छ । जसअन्तर्गत ४ दिनअघि युट्युबमा सार्वजनिक भएको टिजर ट्रेन्डिङको १० औं स्थानमा पुगेको छ । टिजर सार्वजनिक पश्चात् सकारात्मक प्रतिक्रिया पाइरहेको छ । बिष्ट ब्रदर्स फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यो फिल्मले साहस, सङ्घर्ष, सस्पेन्स, र सामाजिक ड्रामाको झलक प्रस्तुत गरेको छ ।
फिल्मको टिजरमा सौगात मल्लको विद्रोही भूमिकालाई केन्द्रमा राखिएको छ । भारतको दार्जिलिङ र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक सङ्घर्षलाई पर्दामा उतार्ने प्रयास गरिएको छ । “अब खुकुरी र बन्दुकले होइन, दिमागले लडौँ” भन्ने प्रेरणादायक संवादले टिजरलाई थप गहिरो बनाएको छ । हेर्नुस् टिजर ।
फिल्मलाई जोन राईले निर्देशन गरेका हुन् । १९८० को दशकका ऐतिहासिक घटनामा आधारित यो फिल्मलाई निर्देशक राईले भारतीय नेपाली समुदायको सङ्घर्षको डिजिटल दस्तावेजका रूपमा परिभाषित गरेका छन् । निर्देशक राई र रुपेश तामाङद्वारा लिखित कथा र पटकथाले फिल्मलाई थप बलियो बनाएको छ ।
‘बम बहादुर’ फिल्ममा सौगात मल्ल, प्रशान्त राई, अनिशा रासाइली, वशिष्ठ कार्की (बाल कलाकार), गर्भ पाख्रिन (बाल कलाकार), अरुण प्रकाश राई, भास्कर प्रधान, महेन्द्र बगदास, मदन भुजेललगायतको अभिनय छ । फिल्मका निर्माता सञ्जीव सार्की हुन् भने छायांकन सुजोय कुमार रोय (मुन्ना) ले गरेका छन् ।














Discussion about this post