इटहरी/ गरिबी, अभाव र पारिवारिक सङ्घर्षलाई चित्रण गर्ने फिल्म ‘कार्साङ’ को टिजर बुधबार सार्वजनिक गरिएको छ । आउँदो पुष २६ गते प्रदर्शनमा आउन लागेको यो फिल्मको २ मिनेट २५ सेकेन्ड लामो टिजरले झाँक्री परिवारले जीवनयापनका लागि गरेको कठोर सङ्घर्षलाई उजागर गरेको छ ।
टिजरमा दयाहाङ राई झाँक्रीको भूमिकामा देखिन्छन्, जसले छोराको बिहेको लागि पैसा जुटाउन हरसम्भव प्रयास गरिरहेको छ । आर्थिक अभावका कारण आफन्तहरूले समेत ऋण दिन नमानेपछि उनले श्रीमतीको गरगहना र गाईवस्तु बेच्नुपर्ने अवस्था आउँछ । हेर्नुस् टिजर ।
श्रीमान-श्रीमतीको भूमिकामा रहेका जितु नेपाल र दीया मास्केको सन्तान नभएका कारण सिर्जित पारिवारिक तनाव पनि टिजरमा रोचक तरिकाले प्रस्तुत गरिएको छ । यम शेर्पाको निर्देशनमा बनेको यो फिल्म उनको डेब्यु निर्देशन हो, जहाँ उनले आफ्नो समुदायको कथा उठाएका छन् । सिर्जना निङलेखुले दयाहाङको श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् ।
फिल्ममा बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले र कर्मा शेर्पाको पनि अभिनय छ । पुरुषोत्तम प्रधान र यार्सा फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यस फिल्मको छायांकन पनि प्रधान आफैंले गरेका छन् । सह-निर्मातामा गोविन्द बोहरा र कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा छन् । नेपालमा फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ भने अन्तर्राष्ट्रिय वितरण अधिकार हुल्या इभेन्ट्स ले लिएको छ ।














Discussion about this post